डिबी बुढा

जुम्ला –६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो।

अस्थायी राजधानी सुर्खेत खारेज गर, ६ नम्वर प्रदेशको राजधानी जुम्लामा घोषणा गर, कर्णाली एकता जिन्दावाद, संघीयताको मर्मअनुसार राजधानी स्थापना गर, लगायतका नारा लगाउँदै आन्दोलनमा र्याली निकालिएको थियो। कोणसभामा बोल्दै युवा अगुवा अनुप थापाले ६ नम्वर प्रदेशको राजधानी कर्णाली बाहेकको विकल्प नभएकोमा जोड दिए । उनले भने, हामीले जुम्ला राजधानीका लागि आन्दोलन गरेका छैनौ, कर्णालीको जुनसुकै जिल्लामा भएपनि ६ नम्बर प्रदेशको राजधानी हुनु अहिलेको आवश्यकता हो । उनले कर्णाली राजधानीका लागि घनिभूत आन्दोलनका कार्यक्रम अघि सार्ने उनले चेतावनी दिए ।आफ्नो अधिकार सुनिश्चित गर्नको लागि बाध्य भएर सडकमा उत्रेका छौँ । अधिकार मागेर नभै खोसेर लिनु पर्ने मान्यता बमोजिम जुम्लावासी आन्दोलनमा उत्रिएको उनले बताए ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कर्णालीमा राजधानीको लागि सबैको ऐकेबद्धताको खाँचो औल्याए । उनले भने, कर्णालीले अधिकारको लडाई लड्ने समय भएकोले सबैको हातेमालो जरुरी देखिएको छ । समाथ्र्य र पहिचानका आधारमा ६ नम्वर प्रदेशको राजधानी कर्णाली मै तोकिनु पर्ने, राजधानी तोक्नका लागि प्रशासनिक सुगमता, भौगोलिक र वैज्ञानिक मापदण्ड प्रयोग गर्नु पर्ने, राज्यको मूलधारमा नआउन्जेल कर्णालीलाई साविकको पिछडिएको उत्पीडित क्षेत्र कायम गर्नु पर्ने र भूगोलको अपमान गरी निर्वाचन क्षेत्र बाँडफाँड गरिएकोले सम्मानसहित कर्णालीका ५ जिल्लाको निर्वाचन क्षेत्र दोब्बर गरिनु पर्ने माग राख्दै आन्दोलनमा होमिएको हो।

कर्णालीलाई औधोगिक शहर बनाएर कर्णालीलाई राजधानी दिन कन्ज्युस्याई नगर्न केन्द्रका नेतालाई जुम्लावासीले आन्दोलन गरेका छन्। उत्तरी नाका कर्णाली संगै जोडिएको र प्रदेश नम्वर ६ को आर्थिक समृद्धि कर्णालीबाटै हुने भएकोले कर्णाली राजधानीको पक्षमा लविङ गर्न कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदलाई आग्रह गरिएको छ ।
सदिऔँ देखि ठगिएको कर्णालीले मुक्ति पाउनको लागि भएपनि कर्णालीका पाँच वटै जिल्लामा आन्दोलन तत्याउनु पर्ने नागरिक समाज जुम्लाले आग्रह गरेको छ। अध्यक्ष महतका अनुसार नागरिक संघर्ष समिति गठन गरेर नियमित रुपमा आन्दोलनका कार्यक्रम अघि सारिने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!