जाजरकोट-त्रिवेणी नलगाड नगरपालिका वडा ३ का ६१ वर्षीय गोरे सार्की घर नजिकै जीप आँउदा हेर्न नाती बोकेर कैनामा आए । बुधबार बेलुका चार वटा जीप दल्लीबाट लिएर कैना पुगेका नगरप्रमूख टेकबहादुर रावललाई अब सधैँ जीप आउँछ नि ? भन्दै सार्कीले जिज्ञासा समेत राखे । उनले आफूले लगाएका सुन बैँकमा राखेर सडक खन्नका लागि पैसा जुटाएका थिए ।

त्यस्तै दलवीर बुढाले वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीलाई हाम्रो सुन बैैँकमा धरौटी राखेर खनेको सडकमा सधै यातायात चल्ने वातावरण बनाईदिन आग्रह गरे । जीप पुगेको हेर्न र स्वागत गर्न यहाँका ३ सय भन्दा बढी स्थानीयहरु माला, अबिर लिएर कैनामा पुगेका थिए । उनीहरुले जीप चालक र मेयर, वडा अध्यक्ष सबैलाई भव्य स्वागत गरे ।
त्रिवेणी नलगाड नगरपालिका वडा ७ दल्लीबाट वडा ३ को कैना सम्म करिब ६ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भई जीप सञ्चालन भएपछि यहाँका स्थानीयहरु खुसीले गद्गद् हुँदै परिश्रमको फल प्रयोग गर्न पाएको भन्दै निकै खुसी भएका छन् । यहाँका ११ जना स्थानीयले ४० तोला सुन बैँकमा राखेर छेप्काबाट कैना सम्म सडक निर्माणका लागि पहल गरेका थिए । वि. सं. २०६९ सालमा यो सडक निर्माणका लागि पहल सुरु गरिएको वडा अध्यक्ष प्रचण्ड ओलीले बताए ।
पहिले सुन धरौटी राखेर सडक निर्माण थालेपछि पछि गाविस र अहिले नगरपालिकाले पनि सो सडकमा ५० लाख भन्दा बढी बजेट विनियोजन गरेपछि सडक निर्माण भएको हो । गाउँका सुन र रुपैया जम्मा गरि बैंकमा धरौटी राखेर खनेको सडक दिगो गर्नुपर्ने भन्दै यहाँका स्थानीयबासीले सबैै जनप्रतिनिधीलाई आग्रह समेत गरेका छन् ।
नगरप्रमूख टेकबहादुर रावलले भने ‘अब हामीले गाडी सञ्चालन गरिसक्यौँ, जहिले नि यहाँ गाडी आउँछ तर तपाईहरु आएका गाडी रित्तो नपठाउनुहोला ? यो डाडागाउँ र ढिमेलाई समेटेर सुन्तलाको जुस बनाई देशका सबै ठाउँमा लिने व्यवस्थाका लागि पाँचकाटियामा कारखाना बन्न लागेको छ।’















