उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो
वि.सं. २०७४ साल पुस १९ गते। बुधबार। इश्वी सन् २०१८ जनवरी ३ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– द्वितीया, २८:१६ बजेउप्रान्त तृतीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले पनि केही काम बनाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने कूटनीतिक प्रयत्नले लक्ष्यमा पुर्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। कामको सफलताले हौसला जगाउनेछ। अरूका कमजोरीबाट फाइदा उठाउने समय छ। विभिन्न अवसरले पछ्याए पनि विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ। तर्क र कूटनीतिले अवसर दिलाए पनि आत्मसम्मान जोगाउन सजग रहनुपर्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्नेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिवश वादविवादमा परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। समुदायको हक संरक्षण गर्न सकिनेछ। चिताएको मूल्य प्राप्त नभए पनि राम्रै फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। सानातिना काममा अल्झनुपर्दा उत्साहमा कमी आउन सक्छ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ। यात्राका लागि केही रकम खर्च हुने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
हल्लाको पछि लाग्दा चिताएको काममा केही अलमल हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आँटले काम सम्पादन हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!