संगालोखबर संवाददाता

काठमाडौँ– नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ ।  महोत्सवमा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति, पत्रकारिता क्षेत्रका विज्ञ तथा समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक संघसंस्थाका प्रतिनिधि सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस तथा छलफल गर्ने उद्देश्य छ ।

Advertisement

लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकारको अनुभवबारे छलफल गरिने तथा सबैखाले विचार अटाउने सन्देश प्रवाह गर्ने महोत्सवको मुख्य लक्ष्य रहेको दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा ठूला सञ्चारमाध्यम तथा सरकारी सञ्चारमाध्यममा समाचार कक्ष र समाचार अन्तरवस्तुमा भाषाभाषी, जातजाति, लैंगिक विभेद र त्यहाँ कार्यरत पत्रकारको समस्याबारे पनि छलफल गरिने बताइएको छ ।

समावेशी नेपालमा बहुभाषिक पत्रकारिताको महत्व जगाउने तथा यसलाई संस्थागत रुपमा कसरी विकास गर्ने भन्ने बहसको केन्द्रबिन्दु हुने अध्यक्ष महर्जनले बताए ।

महोत्सवमा नब्बे वर्षअघि भारतको कोलकाताबाट नेपाल भाषामा पत्रिका प्रकाशन गर्दै आएका नेपाल भाषाका अग्रज पत्रकार धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारका रुपमा घोषणा गर्ने कार्यक्रम पनि रहेको दबुका महासचिव सुनिल महर्जनले जानकारी दिए ।

उनका अनुसार धर्माचार्य र नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको तस्वीरअंकित पात्रो प्रकाशन गरिने तथा नेपाल भाषाका पुराना पत्रकारको जीवनी रहेको बुलेटिन पनि लोकार्पण गरिने छ ।

त्यस्तै ‘नेपाल भाषा’ दैनिकका सम्पादक सुरेशकिरण मानन्धर, वरिष्ठ पत्रकार युवराज घिमिरे, बुद्धिजीवी सिके लालसँग अन्तक्र्रिया गरिनाका साथै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीको मन्तव्य प्रस्तुत हुनेछ ।

महोत्सवमा नेपाल भाषालगायत विभिन्न भाषाका पत्रपत्रिका, मैथिली भाषाको ‘अपन टिभी’, ‘नेपाल समाचारपत्र’ दैनिक, ‘नागरिक’ दैनिक, ‘कामना’ मासिकलगायत ३२ सञ्चारमाध्यमको कक्ष रहने दबुका उपाध्यक्ष सुरजवीर बज्राचार्यले जानकारी र्दिए ।

नेपाल संवत् ११३२ मा स्थापित दबु २५ जिल्लामा नेपाली पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन तथा मातृभाषाको पत्रकारिताको विकास गर्न क्रियाशील हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement