युएई । एउटा छोरा जो वैदेशिक रोजगारीमा यूएई पुगे, कामदारका रुपमा अनेक संघर्ष गर्दै आमाको नाममा आफ्नै कम्पनी खोले । तर, छोराको यो सफलता देख्न आज आमा उनको साथमा छैनन् ।

Advertisement

यो व्यथा हो, चितवनको भरतपुर घर भई हाल यूएईमा रहेका दीपकराज पौडेलको ।

आमालाई सुखी राख्ने सपना साँच्दै विदेशिएका उनले धन त जोडे, तर आमा नै नहुँदा कमाएको धनको उपादेयता उनले देख्न छाडेका छन् । दीपककी आमा आठ वर्षदेखि बेपत्ता छिन् ।

२०६५ सालको तिहारको पर्सिपल्ट काठमाडौंको मनमैजुबाट परिवारको सम्पर्कबाट टाढिएकी ४७ वर्षीया गोमा पौडेलको अहिलेसम्म अत्तोपत्तो छैन । घरमा कुनै समस्या थिएन, तर विना कारण आमा सम्पर्कविहीन हुँदा पौडेल परिवार स्तब्ध छ ।

आठ वर्षको अवधिमा दीपक अनगिन्ती पटक नेपाल पुगिसके । नेपाल जाँदा उनको पहिलो काम आमाको खोजी नै हुने गर्छ । गाडीमा फोटोसहितको पर्चा बाँडेर माइकिङ गर्दै हिँड्नेदेखि चिना हेराउनेसम्मका काम कैयौं पटक गरिसके । तर, आमा कहाँ कुन अवस्थामा छिन् भन्ने पत्तो लाग्न सकेको छैन ।

दीपकले आमाको खोजीका लागि फेसबुकमा ‘प्लिज हेल्प मी टु फाइन्ड माई मदर’ नामको पेज पनि बनाएका छन् । तर, मान्छेहरुबाट सहानुभूति सिवाय केही पाएका छैनन् ।

१२ वर्षको रोजगारी यात्रा, आमा नै सर्वस्व

घरको जेठो छोरो भएकाले परिवारको सबै जिम्मेवारी दीपककै काँधमा थियो ।

सामान्य साक्षर आमा गोमा पौडेल ‘पवित्रा’ छोराले कहिले कमाइ गर्ला र जीवनयापन सहज होला भनेर कल्पन्थिन् । दुई बहिनीहरु गाउँकै प्राथमिक विद्यालयमा कखरा सिक्दै थिए ।

थोरै पुख्र्यौली जग्गा बाहेक गरिखाने आधार पनि केही थिएन । केही उपाय नभएपछि आमा र बहिनीहरुलाई छोडी उनी रोजगारीका लागि १२ वर्षअघि युएई आएका थिए ।

दीपकको सपना आमालाई सुखको दिन दिने मात्रै थियो । एक छोरा र दुई छोरीलाई हुर्काएर पढाइलेखाइ गराउँदा आमाले भोगेका कष्टहरु उनी विदेशी भूमिमा झलझली सम्झिरहेका हुन्थे । केही वर्ष विदेशमा दुःख गरेमा गरिबीको चपेटाबाट मुक्ति मिल्ने आम सपना उनले साँचेका थिए ।

दिनहरु बिते । वर्षहरु बित्दै गए । सामान्य कामदारका रुपमा युएई पुगेका दीपकले कामको क्रममा धेरै परिवर्तन भोगे । युएईको जनजीवन बुझ्नुका साथै स्थानीय कानुन तथा व्यवसायबारे चासो राखे ।

त्यसै क्रममा उनले आमाकै नाममा ‘अल गोमा क्लिनिङ कम्पनी एलएलसी’ नामक कम्पनी नै स्थापना गरे । एक सामान्य कामदार दीपक समयक्रममा मालिक बन्दै ४० भन्दा बढी कामदार परिचालन गर्ने तहमा पुगे । दीपकले भर्खरै अर्का पार्टनरको सहकार्यमा दुबईमै नयाँ व्यवसाय थालेका छन् ।

चितवनबाट काठमाडौं मनमैजुका स्थायी बासिन्दा भएका उनले सुमित्रा आचार्यलाई जीवनसंगिनीका रुपमा भित्र्याएका छन् । अहिले जीवन एक गतिमा दौडिरहेको छ । उनको धन कमाउने एक तहको सपना पूरा भएको छ । तर, आमाको मुहारमा खुसी ल्याउने उनको चाहना अधुरै भएको छ । आमा हराउनुको पीडाले उनलाई दिनरात खाने गरेको छ ।

बेपत्ता हुनु अघिसम्म शारीरिक र मानसिक रुपमा स्वस्थ्य आमा कुनै दिन फर्केर आउने दीपकको आशा जीवितै छ । उनको मनले कहिले सोच्छ, आमा कुनै धर्मशालामा होलिन् कि ? कहिले अनुमान गर्छन्, मलेसिया वा अन्य खाडी देशहरुमा गुमनाम भई काम गरिरहेकी छन् कि ? चिना हेराउँदा पनि धेरै ज्योतिषीहरुले उनकी आमा विदेशमा रहेको अनुमान गरेका छन् ।

हराएकी आफ्नी आमाबारे कुनै भरपर्दो जानकारी दिने अथवा आमा भेटाइदिनेलाई पुरस्कार दिने घोषणा दीपकले गरेका छन् । आफ्नी आमाबारे केही जानकारी पाएमा यूएईमा ००९७१ ५५१०४० ९४३ मा फोन गरेर खबर गरिदिन दीपकले सबैलाई आग्रह गर्न छाडेका छैनन् । अनलाइन खवरमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!