धरान, १७ पुस। प्रदेश राजधानीका लागि सम्भावित क्षेत्रको अध्ययनको जिम्मा पाएको निर्देशक समितिले सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन सकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिफारिस गरेको छ । आवश्यक भौतिक पूर्वाधार तथा पहाड र तराईको संगमस्थल रहेको भन्दै धरान प्रदेश नम्बर एकको राजधानीका लागि उपयुक्त रहेको सिफारिस गरेको हो । प्रदेश नम्बर एकको राजधानीका लागि धनकुटा, सुनसरीको इटहरी र धरान तथा मोरङको विराटनगर र गोठगाउँको चर्चा छ ।

Advertisement

राजधानी माग गर्दै धनकुटामा दुई सातायता प्रदर्शन जारी छ । पूर्णधारले सम्पन्न धनकुटालाई नै राजधानी माग गर्दै स्थानीयबासीले आज बजार बन्द गराएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको निर्देशित समितिले धरानमा प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा हल, मुख्य मन्त्रीको कार्यकक्ष, प्रदेशका लागि सिफारिस सातवटा मन्त्रालयको कार्यालय तथा आवासीय भवनहरू तयारी अवस्थामा रहेको प्रतिवेदन तयार पारेको हो । समितिले धरानलाई नमुना शहरको रुपमा चित्रण गर्दै नगरको विकासका लागि जनस्तरबाट समेत पर्याप्त काम भएको उल्लेख गरेको छ । समितिले प्रदेश राजधानीका लागि आवश्यक भौतिक संरचना र मर्मत संहारमा लाग्ने अनुमानित खर्च समेत खुलाएर मन्त्रिपरिषदमा पठाएको छ ।

स्थलगत भ्रमणपछि समितिले आन्तरिक राजश्व कार्यालय, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीभीआईपी गेस्ट हाउस र सभाहल तथा धरान सभागृहलाई प्रयोगमा ल्याउन सकिने जनाएको हो । यस्तै कृषि विकास बैंकको भवन, इलाका प्रशासन कार्यालय, नेपाल टेलिकम, छाताचोकस्थित पुरानो अस्पताल, पुल योजना पूर्व क्षेत्र सेक्टर नं. १ को भवन, विपि प्रतिष्ठानको स्वामित्वमा रहेको निर्वाणा कन्ट्री क्लबमा रहेका ब्रिटिस क्याम्पका १२ वटा भवनमा समेत प्रदेश मन्त्रालयदेखि आवासका रुपमा समेत प्रयोग गर्न सकिने निष्कर्ष समितिको छ ।  धरानलाई राजधानी माग गर्दै दुई सय बढी संघसंस्थाले स्थानीय भानुचोकमा सुरु गरेको रिले अनशन आज नवौं दिन पनि जारी रहेको सहकर्मी प्रदीप मेन्याङबोले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!