काठमाडौं, १५  पुस। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् ।

Advertisement

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शनिबार ओलीले भने- ‘जनताले लडेर ल्याएको संघीय गणतन्त्र आएको छ, संविधान बनेको छ, निर्वाचन सम्पन्न भएको छ । अलिअलि क्याङक्याङ कुङकुङ त हुन्छ, तर त्यसले केही गर्न सक्दैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’

वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने ओलीले बताए । माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने ओलीले बताए ।अब बन्ने वामपन्थी सरकारले अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा लाग्ने उनले बताए ।

वामपन्थीहरुले बहुमत पाएकाले अब केन्द्र र स्थानीय तहमा समेत काम गर्ने वातावरण बनेको हुनाले देश विकासको बाटोमा अघि बढ्ने ओलीले बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘कमसेकम ६ वटा प्रदेशमा कसैले केही गर्न सक्दैन, स्थानीय तहमा अधिकांश हामीले जितेका छौं । अहिले काम गर्ने वातावरण छ ।’

‘इतिहासको मूल्यांकन बारे बहस गर्दै गरौंला’

पार्टी एकताका सन्दर्भमा माओवाद र जनताको बहुदलीय जनवादको अवस्था के हुने भन्नेबारे चलिरहेको बहसका सन्दर्भमा पनि ओलीले अप्रत्यक्षरुपमा आफ्ना कुरा राखे ।‘इतिहासको मूल्यांकनका सन्दर्भमा फुर्सदमा छलफल गर्दै जाऔंला’, उनले अगाडि भने, ‘मतभेदहरु होलान्, छलफलका विषयहरु हुन सक्छन् । तर, पृष्ठभूमि र आजको अवस्था विगत र वर्तमानभन्दा पृथक हाम्रा नीतिहरु हुन्छन् । आजका आवश्यकताका आधारमा नीतिहरु बन्छन् ।’

राजनीतिक स्थिति फेर्नुपर्ने बेलामा उत्पादन सम्बन्धलाई फेर्नुपर्ने भएकाले त्यसबेला राजनीतिक बहस प्रधान हुने ओलीले तर्क गरे । उनले भने, ‘त्यसबेला राजनीतिक विषयले प्रमुखता पाउँछ ।’तर, अब राजनीतिक विषय टुंगिएकाले आर्थिक विकासले प्रमुखता पाउने उनले स्पष्ट पारे । ओलीले भने- ‘अब अस्थिरतातर्फ लान खोज्ने शक्तिहरु र तिनका प्रयासुहरु असफल हुन्छन्, म साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु ।’

पुस्तक विमोचन कार्यक्रममा ओलीले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता लगायतका विषयमा पनि आफ्ना पूर्ववत् धारणा राखेका थिए । सरकार गठनका सन्दर्भमा उनले केही ढीलो होला, तर वाम गठबन्धनकै सरकार बन्ने स्पष्ट पारे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!