जाजरकोट । जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ घाइते भएका छन् । घाइतेमध्ये २८ को अवस्था गम्भीर छ । सामान्य घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते २८ जनालाई रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगंजतर्फ थप उपचारका लागि लगिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । दुर्घटनामा लहँ-४ का रामबहादुर बस्नेत, भेरीमालिका-४, बोहरागाउँका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, शर्मिला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा-५ का नन्दलाल जैसी, सीमा-९ का मदन पुन, मजकोट-७ का दले तिरुवा, दशेरा-२ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी-४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढा लगायतको २४ को मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन् । बस दुर्घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइतेलाई उपचारको लागि जिल्ला बाहिर नलिँदा घाइतेका आफन्त आक्रोसित बनेका छन् । सम्बन्धित निकायले हेलिकप्टर पठाउन ढिला गरेकोले गम्भीर घाइतेको जाजरकोट अस्पतालमा मृत्यु भएको स्थानीय अमरजंग शाहीले बताए । घाइतेको उपचारमा बेवास्ता भएको स्थानीय शाहीले बताए । गम्भीर घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागि नेपालगंजतर्फ लैजाने भने पनि बिहीबार राति १० बजेसम्म हेलिकप्टर नआएको उनले बताए ।


सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट सडकको बोहरागाउँ धनगारेडाँडा मोडबाट २ सय मिटर तल पासागाड खोलामा खसेको हो । खलंगाबाट दिउँसो ४ बजे साल्माको खारा बजारका लागि छुटेको भेरीगंगा यातयात व्यवसायी समितिको उक्त बसमा ६१ यात्रु सवार भएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दूरीमा रहेको छ । घटनामा २४ को मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । गम्भीर घाइतेहरुको अवस्था चिन्ताजनक भएको उनले बताए । जाजरकोट अस्पतालमा उपचार नहुने भएपछि गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लगिएको उनले बताए । मृतक र घाइते धेरैको सनाखत हुन नसकेको प्रनाउ रिमालले बताए ।

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगायतले उद्धार गरेको उनले बताए । क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्रगतिमा गुडेको गाडी चालकको नियन्त्रण बाहिर जानु दुर्घटनाको प्रमुख कारण भएको प्रनाउ रिमालले बताए । बस दुर्घटनामा चालकको लापरबाही भएको उनले बताए । भीमबहादुर सिंहले ईकान्तिपुरमा लेखेको समाचार अनुसार यसअघि २०७० सालमा छिन्चु जाजरकोट सडक खण्डको रावतगाउ नजिकै भेरी नदीमा बस खस्दा पनि ५४ को ज्यान गएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!