- रबिन कटेल/संगालोखबर

धनकुटा, १० पुस । धनकुटाको बेलहाराडाँडामा बिमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँने तयारी गरिएको छ । बिमानस्थल निर्माणका लागि बजेट बिनियोजन भएपश्चात डीपीआरसँगै बातावरणीय परीक्षण (ईआईए) समेत गर्ने तयारी गरिएको हो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण डीपीआर तयार गर्न केहि ढिलाई भएपनि अव केहि दिनभित्रै डीपीआरको काम सुरु हुँने बिमानस्थल निर्माणमा पहल गर्दै आएका धनकुटाका पूर्व सांसद हेमराज भण्डारीले संगालोखबरलाई जानकारी दिए । ‘चुनाव अगाडीनै डीपीआर गर्ने तयारी थियो ।’ भण्डारीले संगालोकर्मीसँग भने ‘चुनावले गर्दा यो काम ओझेलमा पर्यो, अव केहि दिनमै डीपीआरको काम सुरु हुन्छ ।’

Advertisement

बिमानस्थलको प्रारभ्मिक काम गर्न यस आर्थिक बर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमार्फत दुई करोड बजेट विनियोजन भएको छ । मन्त्रालयले स्थानीय निकाय र जनसहभागितासमेत जुटाउनेगरी विमानस्थल निर्माणमा यस अघि नै सहमति जनाइसकेको छ ।

धनकुटाको बेलहाराडाँडा स्थित एयरपोर्ट निर्माणस्थल । तस्वीर: संगालोखबर

मन्त्री परिषदको सैद्धान्तिक सहमतिपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थ दिएर नागरिक उड्यान मन्त्रालय अन्तर्गत हवाई सुरक्षा तथा प्रासु महाशाखाले विमानस्थल निर्माणकालागि सहमति जनाएको थियो । सहमतिपछि अब मध्यमखालका (एटीआर ४२) कम्तिमा ४५ जना यात्रु क्षमताको विमान उडान गर्न सक्ने विमानस्थल निर्माण कार्य अघि बढाइने पुर्व सांसद भण्डारीले बताए ।

बिमानस्थल सकेसम्म चाडो निर्माणका लागि नगरपालिकाले पनि पहल गर्दै आएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । विमानस्थल बनाउने स्थलको भौगोलिक स्वरुपका आधारमा बाह्रै महिना उडान हुन सक्ने प्राविधिकहरुको भनाई छ ।

एयरपोर्ट निर्माणस्थल वेलहारामा करिब ४२ रोपनीको फराकिलो टारसहित आसपासका थप जग्गालाई धावनमार्गको रुपमा समेटिने भएको छ । ०२२ सालदेखिनै धनकुटामा बिमानस्थल निर्माणको चर्चा थियो । ०६४ साल पश्चात बिमानस्थल निर्माणका लागि पुनः पहल थालियो ।

त्यो बेला मारेककटहरेको घुमाउँने र तेलियाको आहालडाँडामा पनि अध्ययन गरिएको भएपनि प्राबिधिक हिसावले वेलहाराडाँडानै बिमानस्थलका लागि उपयुक्त देखिएपछि आवश्यक प्रकृया पुर्याएर बिमानस्थल निर्माण प्रकृयाको थालनी गर्न लगिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!