काठमाडौं, ७ पुस । पार्टी एकताका लागि एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक शनिबार अपरान्ह हुने भएको छ। शुक्रबारमात्र चितवनतर्फ लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्केपछि एकता संयोजन समितिको बैठक बस्ने भएको हो।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान बालुवाटारमा बोलाएको पाँच राष्ट्रिय पार्टीहरुको बैठकपछि प्रचण्ड गृहजिल्ला चितवनतर्फ लागेका छन्। शुक्रबार साँझ भरतपुरमा बसेर उनी जेसिसको राष्ट्रिय अधिवेशनको उद्घाटनका लागि भैरहवा जाँदैछन्।

प्रचण्ड भैरहवाबाट फर्केपछि एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता लगायत सरकार निर्माणका विषयमा छलफल गर्ने स्रोत बतायो। ‘मन्त्रालय बाँडफाँट लगायतका विषयमा भोलि नै छलफल हुनेछ’ स्रोतले भन्यो, ‘अब उहाँहरु ढिलाई गर्ने पक्षमा हुनुहुन्न।’

एकता संयोजन समितिको बैठक शुक्रबार नै बस्ने भनिएको थियो। तर, शुक्रबार विहान प्रधानमन्त्री देउवाद्धारा आयोजित राष्ट्रिय पार्टीहरुको बैठक र त्यसपछि एमाले स्थायी समितिको बैठकका कारण संयोजन समितिको बैठक हुन सकेन।

खासमा प्रचण्डको चितवन जाने कार्यक्रम भोलि बेलुकीका लागि थियो। जेसिसको राष्ट्रिय अधिवेशन उद्घाटनका लागि भैरहवा जाने र त्यतैबाट चितवन पुग्ने योजनामा थिए उनी। चितवन–३, भरतपुर महानगरपालिका–२५ स्थित प्रभात उच्च माविको वार्षिकोत्सवका लागि उनी त्यसतर्फ जाँदै थिए।

तर प्रधानमन्त्री देउवाले राष्ट्रिय पार्टीहरुको बैठक बोलाइदिएपछि एमाले–माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक हुन हुननसक्ने स्थिति बन्यो। किनभने, बैठक लगत्तै एमाले स्थायी समितिको बैठक राखिएको थियो, जुन अहिलेपनि भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा बसिरहेको छ।

त्यसैले, चितवनतर्फ लागेका प्रचण्ड अब त्यहीँबाट भैरहवा पुग्नेछन् र साँढे १ बजेको उडानबाट काठमाडौं आईपुग्नेछन्। उनी आइपुगेलगत्तै एकता संयोजन समितिको बैठक हुनेछ। स्रोतले भन्यो, ‘यदि समितिको बैठक बसेन भनेपनि प्रचण्ड–ओलीबीच शनिबार साँझसम्म सरकार गठनका सम्बन्धमा छलफल हुनेछ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!