कञ्चनपुर, ७ पुस । कञ्चनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका महिला मदिराका कारण घरेलु हिंसाको शिकार हुने गरेका छन् । मदिराका कारण यहाँका महिलाहरुले मानसिक र शारीरिक यातना खेप्नु परेको छ ।

दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसा साँझपख श्रीमानले लगेर मदिरा पिई श्रीमतीमाथि हिंसा निम्त्याउने गरेका छन् । छिमेकीले समेत होहल्ला र चिच्याहटका कारण रातिको बेला सुत्न समेत पाउने गरेका छैनन् । ६२ वर्षीया एकल महिला पार्वती भाटले छोराले सधैँ मदिरा पिएर श्रीमतीलाई कुट्न थालेपछि प्रतिरोध गर्दा आफू माथिसमेत कुटपिट हुँदै आएको बताउनुभयो ।

छोराले मदिरा पिएर आएको थाहा पाउने बित्तिकै बुहारी, नाती नातीनीसहित कुटिनबाट जोगिनका लागि खेतबारीमा गएर लुकेर रात बिताउने गरेको उहाँले बताउनुभयो । “चिसोका बेला कसरी खेतमा बसेर रात काट्नु पर्छ, हामीलाई नै थाहा छ”–उहाँले भन्नुभयो, “यसबाट मानसिक र शारीरिक यातना खेप्न बाध्य भएका छौँ ।”

घरमा राखेको अन्न, बजारबाट खरिद गरेको साबुन, सोडा र बारीमा लगाएको तरकारीसमेत बेचेर घरका पुरुषले मदिरा पिउँदै आएकाले महिलाले पीडा खेप्नु परेको स्थानीय कलावती विष्टको भनाइ छ । “मदिरा नपिउने भए यहाँका महिलाका सुखका दिन आउँथे, महिलाका दुःख थाहा पाउने कोही छैन, यहाँका महिलाले पीडा संगालेर बस्नु परेको छ ।”

मदिराले निम्त्याउने हिंसाका कारण श्रीमतीले छाडेर जाँदासमेत धेरै पुरुषको बानी सुध्रिएको छैन । राधिका सिंहले भन्नुभयो, “उज्यालो नहुँदै मदिरा सेवन गरेर आउँछन्, घरमा रहेका बाख्रा, कुखुरा केही बाँकी राख्दैनन्, सबै बेचेर मदिरामै खर्च गर्छन् ।”

“घरमा राम्ररी बस्न पाएका छैनाैँ, घरमा राखेको चामल, पिठो र भाँडाकुडा केही बाँकी राखेका छैनन्, लठ्ठी टेक्दै मदिरा पसल बन्दको माग राखी नगरपालिका कार्यालयसम्म आउनुपर्ने रहर नभएर बाध्यताले डोहो¥याएको छ, पीडित भएर यहाँ आएका छौँ, निसाफ चाहिन्छ”– स्थानीय ६५ वर्षीय धना कुवँरले भन्नुभयो ।

“गाउँमा शान्तिसँग बस्ने वातावरण, बालबालिकालाई विद्यालय पढाउने खर्च, दुई छाक खान पाउनु पर्ने र एकसरो लुगाकपडा लगाउन पाउने वातावरण सिर्जना गर्नका लागि नगरपालिकामा गुहार माग्दैछौँ”– अर्की महिला पार्वती कुवँरले भन्नुभयो ।

यहाँका महिलाहरुले अवैध मदिरा पसलमा एकजुट भई मदिरा जफत गरेपनि पसल सञ्चालकहरुले मदिरा बिक्री गर्न छाडेका छैनन् । नजिकै रहेको विद्यालय नजिकै मदिरा बिक्री हुने गरेको छ । तीन वर्षअघि बन्द गरिएको मदिरा पसल पुनः खोलेर निर्धक्कसँग मदिरा बिक्री हुन थालेपछि शुक्लाफाँटा मध्यवर्ती समाज सुधार समितिमा आबद्ध महिलाहरु पसल बन्दको माग राख्दै नगरपालिका कार्यालयमा पुगेका हुन् ।

गाउँमा खुलेका वैध, अवैध मदिरा पसल बन्द गराउन महिलाहरुले नगरपालिकाको न्यायिक शाखामा उजुरीसमेत गरेका छन् । मदिरा पसल खोल्नका लागि निवेदन दिएकालाई इजाजत नदिन, खुलेका मदिरा पसलको इजाजत पत्र नवीकरण नगर्न र अवैध मदिरा पसल बन्द गरी कारबाही गर्न उजुरी दिइएको सरस्वती ऐरले बताउनुभयो ।

“नगरपालिकाका १२ वटै वडाका महिलाहरु मदिरा र जुवातासबाट पीडित भएकाले पूर्णरुपमा मदिरा र जुवातास बन्द गर्न माग गरेका छौँ”–समितिका अध्यक्ष गौरा देवी धानुकले भन्नुभयो, “शान्ति र सामाजिक सद्भाव खलबल्याउनेलाई कानुनी कारबाही गरियोस् ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!