काठमाडौं, ७ पुस ।  सामान्य प्रशासन मन्त्रालयले करिब तीन हजार कर्मचारी प्रदेशस्तरको मन्त्रालयमा खटाउने गरी गृहकार्य थालेको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अन्तरिम व्यवस्थापनअन्तर्गत् प्रदेशस्तरमा खटाउने गरी कर्मचारीको व्यवस्थापन भइरहेको जानकारी दिए ।

Advertisement

सरकारले प्रदेश तहमा रहने मन्त्रालयको संख्या यकिन भने गरिसकेको छैन । सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहने मन्त्रालयको संख्या तोक्नेछ ।

सरकारले प्रदेशमा रहने मन्त्रालयको संख्या तोक्नेबित्तिकै तत्कालै त्यहाँ खटाउने गरी सामान्य प्रशासन मन्त्रालयले तयारी अघि बढाएको हो ।

कर्मचारीको यो व्यवस्थापन तत्कालका लागि हो । यसको अन्तिम टुंगो भने कर्मचारी समायोजनको संगठन तथा व्यवस्थापन सर्वेक्षण -ओएनएम)ले गर्नेछ ।

मन्त्रालयका प्रवक्ता न्यौपानेले प्रदेश मन्त्रालयमा खटाउने गरी सचिवदेखि तल्लो तहसम्मको कर्मचारी व्यवस्थापनको तयारी भइरहेको बताए ।

प्रदेशमा खटाउने कर्मचारीको जोहो गर्न मन्त्रालयले सबै मन्त्रालयमा कर्मचारी विवरण माग गरिसकेको छ । विभिन्न मन्त्रालयसँग प्रदेशस्तरमा गठन हुने सोही प्रकृतिका मन्त्रालयमा आवश्यक पर्ने कर्मचारी पठाउन त्यसको विवरण माग गरी करीव दुई साताअघि नै सामान्य प्रशासनले विभिन्न मन्त्रालयलाई पत्र पठाएको थियो ।

सहसचिवदेखि तल्लो तहसम्मको तह नै किटान गरेर प्राविधिक र अप्र्राविधिक सबै तहका कर्मचारीको विवरण उपलब्ध गराउन सामान्य प्रशासनले विभिन्न मन्त्रालयलाई पत्र पठाएको थियो ।

विभिन्न मन्त्रालयसँग माग गरेबमोजिम केही कर्मचारीको विवरण उपलब्ध भइसकेको पनि सामान्य प्रशासनले बताएको छ । विवरण नदिने मन्त्रालयसँग ताकेता गरिरहेको मन्त्रालयका प्रवक्ता न्यौपानेले बताए ।

मन्त्रालयहरुबाट यस्तो विवरण प्राप्त हुन नसकेको खण्डमा सम्बन्धित सेवासमूहअन्तर्गत किताबखानामा भएको रेकर्ड हेरेर मन्त्रालय आफैंले छानेर कर्मचारी प्रदेशमा पठाउने न्यौपानेले बताए ।

प्रदेशस्तरमा खटाउने कर्मचारी आगामी दिनमा मर्ज हुने मन्त्रालय, जिम्मेवारी कम भएका मन्त्रालय, केन्द्रीयस्तरका निकाय, क्षेत्रीय कार्यालय, डिभिजन कार्यालयलगायतबाट जोहो गरिने सामान्य प्रशासन बताउँछ ।

यसबाहेक भर्खरै लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीहरुलाई पनि प्रदेश मन्त्रालयमा खटाउन सकिने विकल्प रहेको सामान्य प्रशासनको भनाइ छ ।

‘प्रदेशस्तरमा रहने मन्त्रालयको संख्या यकिन भएपछि त्यसको सात दिनभित्रमा कर्मचारी खटाउन सक्नेगरी हामीले त्यसको गृहकार्य गरिरहेका छौं,’ मन्त्रालयका प्रवक्ता न्यौपानेले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!