- रबिन कटेल/संगालोखबर

धनकुटा, ४ पुस । प्रादेशिक राजधानीको माग गर्दै धनकुटाबासीले मंगलबार पनि प्रदर्शन गरेका छन् । धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाईनुपर्ने माग राख्दै धनकुटा बजारमा पाँचौ दिन पनि प्रदर्शन जारी राखिएको हो ।

मदन चौकबाट निश्किएको ¥यालीले हुलाकटोल, यलम्वरचौक, तल्लोकोप्चे, माथ्लोकोप्चे, भीमनारायण चौक, वीचबजार परिचयमोड लगायत क्षेत्रको परिक्रमा गरेको थियो । सयौंको संख्यामा निश्किएका धनकुटाबासीले ‘धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर, धनकुटेलीको अधिकार खोस्न पाईदैन’ जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका हुन ।

Advertisement
राजधानी माग गर्दै धनकुटामा भएको प्रदर्शन । तस्वीर: रबिन कटेल/संगालोखबर

बजार परिक्रमा पश्चात मदनचौकमा कोणसभा गरिएको थियो । सभालाई संबोधन गर्दै नागरिक समाजका अध्यक्ष द्रोणप्रसाद गुरागाईले पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पुर्वको मुख्य प्रशासनिक थलोका रुपमा रहेको धनकुटालाई प्रदेशको राजधानी बनाउँन सरकारसँग माग गर्दै माग पुरा नभएसम्म आन्दोलन जारी राखिने बताए ।

धनकुटेलीले राजधानी माग गर्दै गत शुक्रबार देखि नियमित रुपमा प्रदर्शन गर्दै आएका छन् । दैनिक प्रदर्शन गरेर धनकुटाबासीले राजधानी घोषणा गर्न दवाव दिएका हुन । राजधानी घोषणाका लागि दवाव दिन धनकुटेलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँनेदेखि आमहड्तालसम्म गरिसकेका छन् ।

कोणसभालाई संबोधन गर्दै नागरिक समाजका अध्यक्ष गुरागाई । तस्वीर : संगालोखबर

पर्याप्त भौतिक पूर्वाधार रहेको, १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले धनकुटालाई राजधानी बनाईनुपर्ने जिल्लाबासीको माग छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई राजधानी तोक्न आनाकानी गरिए आन्दोलन थप चर्काउँने जिल्लाबासीले चेतावनी पनि दिएका छन् ।

राजधानीको माइतिघर मण्डलामा धर्ना दिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१ नम्बर प्रदेशको राजधानी माग गर्दै धनकुटाबासीले मंगलबार राजधानीको माइतीघर मण्डलामा पनि धर्ना दिएका छन् । धनकुटाबाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई र उद्योग मन्त्री सुनिलबहादुर थापा नेतृत्वको टोलीले दवावस्वरुप धर्ना दिएको हो ।

माईतिघर मण्डलामा भएको धर्ना कार्यक्रम ।

धनकुटा प्रदेशससभा (क) का सदस्य निरन राई, प्रदेशसभा (ख) का सदस्य ईन्द्रमणी पराजुली, निवर्तमान सांसद मनोहरनारायण श्रेष्ठ, उदय नेपाली, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उपमेयर सकुन्तला बस्नेत, उद्योग बाणिज्य संघका धनकुटा अध्यक्ष उमेश घिमिरे, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायत पनि धर्नामा बसेका थिए ।

प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र हस्तान्तरण गरिदै ।

धर्ना पश्चात भएको सभालाई संबोधन गर्दै बक्ताहरुले हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

यसैगरी मंगलबार नै प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र प्रदान गर्दै धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गरिएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!