उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
यो महिनामा संघर्षमय परिस्थितिको संक्रमण पार गर्दै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। प्रारम्भमा व्यावहारिक दायित्वको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। बन्धुबान्धव तथा गुरुजनसँग मतभेद देखापर्न सक्छ। केही थकान, आलस्य र अस्वस्थताले पनि लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। तर, पहिलेको असफलता, फुत्किएको अवसर र पश्चात्तापको अग्नि कर्मयोगका प्रेरक बन्नेछन्। अध्ययनमा प्रगति हुनेछ भने व्यवसायमा बिस्तारै फाइदा हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। दाम्पत्यमा असमझदारी देखिए पनि गृहस्थी सुखद रहनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिस्थितिजन्य समस्याले सताउन सक्छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चिताएका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव भने कमजोर रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही उतारचढाव देखिए पनि समग्रमा यो महिना शुभफलदायी रहनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। अध्ययनको सफलताले विदेश जाने अवसर मिल्न सक्छ। मित्रताको बन्धन अझ प्रगाढ हुनेछ भने प्रेम सम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। तर, अनावश्यक वादविवाद, मनमा अशान्ति र स्वास्थ्यमा प्रतिकूलताको योग समेत रहेकाले सजग रहुनुपर्नेछ। जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग देखिन्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। विभिन्न अवसर प्राप्त हुनेछन्। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ। साथीभाइसँग वादविवाद हुने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्यमा मौसमी समस्या देखापर्न सक्छ। आँटेका काममा केही विलम्ब भए पनि सहयोगीहरू जुट्नाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्ने समय छ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। आलस्य गर्दा धेरै काम रोकिए पनि बिस्तारै मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। प्रयत्न गर्दा अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। नयाँ काम थालनी गर्न समय प्रतीक्षा गर्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योगधन्दा र व्यवसायमा सफलता प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मिहिनेत गर्दा व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिले गलत मार्गमा अग्रसर गराउने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। आँटेका काममा अनायासै चुनौती देखापर्न सक्छ। ठूलो आशा देखाउनेहरूबाट पनि धोका पाइनेछ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले सताउन सक्छ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थिति संघर्षमय रहनाले चिताएको फाइदा नउठ्न सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। काममा आलस्य बढ्नेछ भने समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यस महिनामा केही व्यावहारिक उतारचढाव आउनेछन्। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ। नजिकका साथीभाइ टाढिने हुँदा उनीहरूको सहयोग नजुट्न सक्छ। वादविवादमा अघि नसर्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। तापनि, अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले चिताएको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा सम्भावना छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यो महिना निकै उत्साहवर्धक रहनेछ। नोकरी तथा राजनीतिमा विशेष सफलता प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुने समय छ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोतसमेत बढ्नेछन्। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। एक पछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा हुन सक्छ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कीर्तिमानी कामले प्रतिष्ठा दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा भने केही कमजोरी देखा पर्नसक्छ। चोटपटक लाग्ने योग देखिएकाले सवारी र हातहतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोला। उच्च महत्त्वाकांक्षाले फजुल खर्च बढाउन सक्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!