- संगालोखबर सम्वाददाता

धनकुटा, २८ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका १९ मध्ये १३ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेबाट विजयी राजेन्द्र राई र निकटतम प्रतिस्प्रधि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राईले ३७ हजार ३ सय ३३ मत ल्याएर विजयी भए भने थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए । जिल्लामा प्रतिनिधिसभातर्फ चुनावी प्रतिस्प्रधा गरेका मंगोल नेशनल अर्गनाईजेशनका श्याममान राई, एकीकृत राप्रपा राष्ट्रवादीका सुभान सिं राई, राष्ट्रिय जनमुक्तीका इन्द्रबहादुर रसाईली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिं लिम्बु (नेम्वाङ) को जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले संगालोखबरलाई बताए ।

Advertisement

यसैगरी प्रदेशसभा सदस्यतर्फ प्रदेश (क) मा एमालेबाट विजयी निरन राई र निकटतम प्रतिस्प्रधि नेपाली कांग्रेसका मनोहरनारायण श्रेष्ठबाहेक सवैको जमानत जफत भएको छ । प्रदेश (क) मा राप्रपा राष्ट्रवादीका ज्ञानबहादुर बिष्ट, राजपाका खगेन्द्र प्रसाद राई, जन प्रजातान्त्रिकका सोमबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका क्षेत्रबहादुर लिम्बु र राप्रपाका चक्रबहादुर बुढाथोकीको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालय धनकुटा । फाईल तस्वीर : संगालोखबर

यता प्रदेशसभा (ख) मा एमालेबाट विजयी इन्द्रमणी पराजुली र निकटतम प्रतिस्प्रधि अर्जुनबहादुर थापामात्र जमानत जफतबाट जोगिएका छन् । प्रदेशसभा (ख) मा एकीकृत राप्रपाका दाजङ्बो शेर्पा, नेमकिपाका दुर्गमान थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली र नेपाली कांग्रेस (वी.पी) का विकास तामाङको जमानत जफत भएको छ ।

जमानत जफतबाट जोगिनका लागि कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने ब्यवस्था छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार धरौटी राख्नु पर्छ । तर, दलित, अल्पसंख्यक लगायत समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने उम्मेदवारले ५ हजार धरौटी राख्नुपर्छ ।

यसैगरी प्रदेशसभातर्फ ५ हजार धरौटी राख्नुपर्ने ब्यवस्था छ । तर, समावेशी कोटामा उम्मेदवार बनेकाले २ हजार ५ सय धरौटी राख्नुपर्छ । धनकुटामा बाम र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका ६ उम्मेदवारबाहेक १३ जना उम्मेदवाकै यो धरौटी रकम जफत भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!