धादिङ्ग, २८ मंसिर । धादिङ्गमा गाँजा ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ट्रकमा लुकाएर काठमाडौबाट वीरगन्ज पुर्याउन लागिएको ३८ किलो गाँजासमेत उनीहरूका साथबाट बरामद भएको छ ।
ना २ ख ७३११ नम्बरको ट्रकको चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय गजुरीको गस्ती टोलीले बिहीबार बिहान ट्रकका चालक पर्साको कल्याणपुर बस्ने हृदयानन्दप्रसाद यादव र वीरगन्ज बस्ने आकाश सुनारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय धादिङ्गको जिम्मा लगाइएको छ । विषेश सुचनाका आधारमा गरिएको खानतलासीबाट सेतो र पहेंलो रङ्गका २२ वटा बोरामा राखिएको सो गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।