
काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले तत्काल पार्टी नेतृत्व परिवर्तन गर्न सम्भव नभएको बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवाले चाहे आफैँ संसदीय दलको नेता बन्नसक्ने पनि बताए।
‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन,’ खाँडले भने, ‘पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ।’
चुनावमा पार्टीको पराजयपछि नेता गगन थापाले देउवाले स्वेच्छाले सभापति पद नछाडे हस्तक्षेप गरिने बताएका थिए।
तर खाँडले कांग्रेसको पराजय कुनै एक व्यक्तिको जिम्माको कुरा नभएको तर्क गरे। ‘यो त सामूहिक जवाफदेहिताको कुरा हो, मैले आफ्नो ठाउँबाट लिनुपर्ने जवाफदेहिता म लिन्छु, अब केन्द्रीय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन, बरु पार्टीलाई एकजुट भएर अघि बढाउँछौं,’ उनले भने।
उनले विशेष महाधिवेसन बोलाए पनि नेतृत्व परिवर्त नहुने दाबी गरे।
‘विशेष महाधिवेशन बोलाएपनि नेतृत्व परिवर्तन हुँदैन, यो म अहिल्यै नै भन्छु,’ उनले भने।
खाँडले पार्टीमा पनि कुनै मतान्तर नभएको र नेतृत्व परिवर्तनको कुनै एजेण्डा नभएको बताए।
उनले कांग्रेस मास बेस पार्टी भएकोले अब यसलाई कार्यकर्ता आधारित बनाउनतिर लाग्नुपर्ने तर्क गरे।















