गोरखा, २५ मंसिर । ‘आज त खुब भाञ्जा (बाबुराम) लाई बोकेर हिँडिएको छ होइन?’ डा. बाबुराम भट्टराईका मामा गोरखा छोप्राकका पुराना कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेलाई साथीले सोधेपछि उनको जवाफ थियो, ‘व्रतबन्ध गरियो अब काशी लैजान लागेको।’ काशी पठनपाठनका लागि लैजाने प्रचलन नेपालीहरुमा केही वर्षअघिसम्म जीवित थियो।

Advertisement

रुखबाहेक अरु चिन्हमा भोट नदिने सार्वजानिक घोषणा गरेका चन्द्रप्रसादले मंसिर १० गते रुखमा मात्रै भोट दिएछन्। नेपालखबरसँग आज गोरखामा कुराकानी गर्दै न्यौपानेले भने, ‘मतदान अधिकृतलाई प्रतिनिधिसभाको मतपत्र नलेऊ म भोट हाल्दिनँ भनेको मानेनन्, यो मतपत्र नलिए अरु पाइँदैन भने। त्यसैले खाली मतपत्र बाकसमा हालिदिएँ। त्यसपछि प्रदेश र समानुपातिकका लागि तीन वटा भोट रुखमा दिएँ।’

भाञ्जा बाबुरामले निर्वाचनपूर्व घरमै पुगेर आफूलाई भोट दिएर सघाउन आग्रह गरेपनि उनले मानेनन्। उनी भन्छन्, ‘आँखामा भोट दिइनँ। मेरो हात बिटुलाएको छैन, रुख चिन्हमा मात्रै मेरा हातले भोट दिन्छन्।’ देशभर अप्राकृतिक रुपमा गठबन्धन भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले प्रदेशमा तनहुँबाट प्रदीप पौडेल पाँच भोट अन्तरले र नेताहरु शेखर कोइराला, महेश आचार्य पराजित भएकोमा दुःख लागेको बताए।

निर्वाचनमा आफ्नो पार्टीबाट गोरखा २ मा उमेद्वार नभएको बताउँदै कांग्रेसीहरु डोले (दुलाहालाई डोलीमा बोकेर हिँड्ने) भएको न्यौपाने बताउँछन्। ‘दुलाहा नयाँ शक्तिको थियो उसैलाई कांग्रेसीहरुले बोकेर हिँडे, जिताए पनि तर फाइदा केही पुग्नेछैन भन्नेमा म ढुक्क छु’ उनले भने।

‘भाञ्जासंग दुस्मनी केही छैन। तर जीतबाट म खुसी छैन, बेखुसी हुने कुरा पनि रहेन,’ उनले थपे।

०६४ सालको संविधानसभा निर्वाचनमा न्यौपाने भाञ्जा बाबुरामबाट पराजित बनेका थिए। बाबुराम गोरखा २ बाट विजयी बनेपछि आइतबार गोरखामा आयोजित विजय उत्सव तथा धन्यवाद ज्ञापन कार्यक्रममा बाबुराम सवार गाडीमै न्यौपाने चढेका थिए।

उनले भने, ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले ‘बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो म चढेँ। कुनबेला गाडीको बाहिर भाञ्जा चढिसकेछन्। अरुले देख्दा बाबुरामको विजय उत्सवमा साथ दिएजस्तो देखियो, त्यो होइन।’ गोरखामा एक प्रदेशसभा क्षेत्र जितेका प्रकाशलाई भने न्यौपानेले कांग्रेसको बीऊ जोगाइदिएकोमा धन्यवाद दिएका छन्।

राष्ट्रिय राजनीतिबारे कुरा गर्दा न्यौपानेले देउवा असफल भइसकेको बताए। ‘सभापति शेरबहादुरजी असफल हुनुभयो। अब पार्टीले बिशेष महाधिवेशन बोलाउनुपर्छ र युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गरी पुराना नेताहरु सल्लाहकारमा बस्नुपर्छ।’

विजयी भएपछि भाञ्जा बाबुरामसंग संवाद नभएको उनले खुलाए। भट्टराईले माओवादी नेता नाराणकाजी श्रेष्ठलाई छ हजार ८७४ मतान्तरले हराएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!