प्युठान, २५ मंसिर । मंसिर २१ मा सम्पन्न दोस्रो चरणको निर्वाचन बाट प्यूठान जिल्ला बाम किल्ला बनेको छ । एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको प्युठानमा भारी मतले बाम उम्मेदवारहरु विजयी भएसंगै बाम गठबन्धनले कब्जा गरेको हो ।
प्रतिनिधिसभा बाम गठबन्धन (राष्ट्रिय जनमोर्चा) बाट उम्मेदवार बनेकी नेतृ दुर्गा पौडेलले १६ हजार २ सय २६ मतको फराकिलो मतान्तर सहित विजयको झण्डा फहराउन सफल भएकी छन् ।
उनका निकटम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डा. गोविन्दराज पोख्रेलले ३१,२८६ मत पाएका छन् भने पौडेलले ४७,५१४ मतकासाथ विजयी भएकी हुन् ।
प्युठान जिल्लालाई नेपाली कांग्रेसले चुनाब जित्ने क्षेत्रको सुचिमा राखे पनि बाम गठबन्धनबाट एक प्रतिनिधि सभा र २ प्रदेश सभाका ३ वटै उम्मेदवारहरु फराकिलो मतान्तरले विजय भएपछी प्यूठान जिल्ला लालकिल्ला बनेको प्यूठानी जनताको बुझाइ छ ।
रोचक विषय त यो हो की राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्याकारी अधिकृतको जागिर छाडेर संसदमा जाने डा. गोबिन्दराज पोख्रेलको योजना गिलासले ढालिदिएको छ । गठबन्धनबाट साझा उम्मेद्धवार बनेकी राष्ट्रीय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल पनि महामन्त्री मोहनबिक्रम सिंहको पत्नी हुन् ।
प्रदेश सभा क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार हरि प्रसाद रिजालले २४,७३४ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेक प्रसाद भण्डारीले १२,६३८ मत प्राप्त गरी पराजित व्यहोर्नु परेको छ । रिजालले आफ्ना प्रतिद्धन्द्धीलाई १२,०९६ मतले पछि पर्दा जित हासिल गरेका हुन् ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं. २ मा माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का पनि फराकिलो मतान्तर सहित विजय भएका छन् । नेता खड्काले २७,९१० मत ल्याई विजय हासिल गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार अमर भण्डारीले १४,१६६ मत प्राप्त गरी परजित हुन परेको छ ।
नेता खड्काको आफ्ना प्रतिद्धन्द्धी भन्दा १३ हजार ७४४ मतान्तर फरक पार्दै विजयको झण्डा पहराउन सफल भएका छन् । १ लाख ३८ हजार ६ सय ३८ मतदाता रहेको प्यूठान जिल्लाभरि ९० हजार ५ सय ४६ मत खसेकोको थियो । खसेको मतबाट ११ हजार ५ सय १ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।