काठमाडौं, २३ मंसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई ३ हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छन्।
हेमकुमार राईले २० हजार ९१२ मत प्राप्त गरे भने कांग्रेसका केसीले १७ हजार ७४५ मत ल्याए। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भए।
बस्नेतले कांग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका छन्। बस्नेतले १० हजार ६६७ मत प्राप्त गर्दा कांग्रेसका कार्कीले ८ हजार ८४६ मत ल्याएका छन्।
प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी भए। राजभण्डारीले कांग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका नेता आङगेलु शेर्पालाई पराजित गरेका हुन्। निर्वाचित भएका राजभण्डारीले १० हजार ३८७ मत प्राप्त गर्दा कांग्रेसका शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरे।