काठमाडौं, २१ मंसिर । ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो।
आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको बताए।
अहिलेसम्म मतदान शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको समेत शर्माले नेपालखबरलार्इ जानकारी दिए।
७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ।
दोस्रो चरण अन्तर्गत आज भइरहेको निर्वाचनमा १ करोड २२ लाख ३५हजार ९ सय ९३ मतदाताले मतदान गर्दैछन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचार मतदान केन्द्रमा खटाएको छ।
आज भइरहेको प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।