काठमाडौं, २१ मंसिर । आज दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतदान हुँदैछ। दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र रहेका छन्।
४७जिल्लाका प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।
आजको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्ने मतदातालाई सहजताका लागि निर्वाचन आयोगले तयार पारेका केही प्रश्नउत्तोर यस्ता छन्ः
- मतगणना स्थलमा कसले प्रवेश पाउँछन्?
राजनीतिक दल, उम्मेदवार वा निजका निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि,कर्मचारी, मतगणनामा खटिएका सुरक्षाकर्मी, र पर्यवेक्षकहरू र निर्वाचन अधिकृतले अनुमति दिएका देहायका व्यक्तिले मतगणना स्थलमा प्रवेश पाउँछन्।
- मतदाताले मतदान केन्द्रमा जादा कुनै कागजात लैजान जरूरी छ कि छैन?
निर्वाचन आयोगले मतदातालाई उपलब्ध गराएको मतदाता परिचय पत्र साथमा लैजानुपर्छ । यदि सो नभएमा मतदाताले आफूसँग भएका आफूलाई चिनाउने फोटो भएका प्रमाणहरू जस्तैः नागरिकताको प्रमाणपत्र, सरकारी निकायहरूबाट जारी भएका परिचयपत्रहरू जस्तै राहदानी, सवारी अनुमतिपत्र आदि) मध्ये कुनै एउटा प्रमाण साथमा लगेमा राम्रो हुन्छ ।
- मतदाताले मतदान केन्द्रमा पुगेपछि के के गर्नुपर्छ?
मतदान केन्द्रमा पुगेर मतदाताका लाइनमा उभिने र नाम रूजू गराउनुका साथै औंलामा मसी लगाउन दिने र मतपत्र लिनुपर्छ। मतपत्रको पुछारमा मतदान अधिकृतले सही गरेको छरछैन राम्ररी हेर्ने र सही गर्न छुट भएको भए सही गराएर मात्र मतदान गर्नुपर्छ। यसरी प्राप्त मतपत्रमा मतसङ्केत (छाप) लगाई सम्बन्धित मतपेटिकामा खसाली बाहिर जानुपर्छ।
- मतपत्रमा कसरी र कहाँ छाप लगाउने?
मतदानका लागि मतदाताले स्वस्तिक छाप नै लगाई मत सङ्केत गर्नुपर्छ।मतदाताले पहिलोहुने निर्वा्चितहुने निर्वाचन प्रणाली अन्तर्गतको मतपत्रमा आफुले रोजेको उम्मेदवारको चिन्ह रहेको कोठामा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्रमा आफूले रोजेको राजनीतिक दलको चिन्ह रहेको कोठामा मतसङ्केत गरी मतदान गर्नुपर्छ। मतदाताले मतदान केन्द्रमा रहेको मतसङ्केत गर्ने मतदान कक्षमा गई गोप्य रूपमा छाप लगाउनु पर्छ।
- छाप लगाएको मतपत्र कहाँ खसाल्ने ?
मतसङ्केत गरिसकेपछि मतपत्रलाई पट्याई पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणाली अन्तर्गतको मतपत्रलाई १ नं. लेखिएको हल्का निलो रङको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नुपर्छ ।समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र २ नं. लेखिएको हल्का रातो रङको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नुपर्छ ।
- कस्तो अवस्थामा मतपत्र बदर हुन्छ?
सम्बन्धित मतदान अधिकृतको सही नभएको र तोकिएको बमोजिम मतसङ्केत नगरी वा अन्य कुनै किसिमले मतसङ्केत गरिएको वा अन्य कुनै चिन्ह लेखेको जस्तैः ल्याप्चे वा रेजा चिन्ह लगाएपछि मतपत्र बदर हुन्छ।
साथै उम्मेदवार वा राजनीतिक दलको चिन्ह रहेको कोठामा मतसङ्केत नगरी अन्यत्र मतसङ्केत गरेको, कुन उम्मेदवार वा राजनीतिक दलका लागि मत दिएको हो, सो नछुट्टिने गरी मतसङ्केत गरेको, एकभन्दा बढी उम्मेदवारको वा दलको चिन्ह रहेको कोठामा मतसङ्केत गरेको, सम्बन्धित मतदान केन्द्रका लागि निर्धा्रित गरिएको मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरेको, आयोगले जारी गरेको मतपत्रबाहेक अन्य मतपत्र प्रयोग गरिएको, सम्बन्धित निर्वाचन क्षेत्रका लागि प्रयोग गर्नुपर्ने मतपत्र अन्य निर्वाचन क्षेत्रका लागि प्रयोग गरेको र मत नदिने निश्चय गरी मतदान अधिकृतलाई फिर्ता दिएको मतपत्र बदर हुन्छ।
- दृष्टिविहिन वा अशक्त व्यक्तिले कसरी मतदान गर्न सक्छन्?
दृष्टिविहिन वा शारीरिक अपाङ्गताका कारण आफैले मतदान गर्न नसक्ने मतदातालाई निजले चाहेका व्यक्ति मार्फत् मतसङ्केत गर्ने गोप्य कक्षमा लैजान अनुमति माग्न सक्छन् । मतदान अधिकृतलाई सो व्यहोरा उपयुक्त लागेमा त्यस्ता व्यक्तिलाई मतदाताको साथमा मतसङ्केत गर्ने स्थानमा जान अनुमति दिन सक्छन् । यस्ता मतदाताले मतदान अधिकृतलाई नै मतसङ्केत गरिदिन आग्रह गरेमा मतदान अधिकृतले निजसँग मतसङ्केत गर्ने गोप्य कक्षमा गई निजले भने अनुसार मतसङ्केत गरिदिन्छन् ।
- मतदान केन्द्रमा पुगेपछि अल्मलिएमा कसलाई सोध्ने?
मतदान केन्द्रमा पुगेपछि अलमल भएमा मतदान कार्यमा खटिएका स्वयम्सेवकहरू, सुरक्षाकर्मीहरू तथा मतदान कार्यमा खटिएका कर्मचारीहरूको सहयोग लिनुपर्छ।
- निर्वाचन अपराध भन्नाले केलाई बुझाउँछ?
निर्वाचन अपराध भन्नाले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा असर पार्ने निर्वाचनसँग सम्बन्धित आपराधिक कार्यहरुलाई निर्वाचन कसुर मानिएको छ।
निर्वाचनसम्बन्धी अपराधमा अनधिकृत व्यक्तिले मतदान गर्नु, मतदातालाई क्षति पु¥याउनु, धाकधम्की देखाउनु, सामाजिक बहिष्कार गर्नु, लोभलालच देखाउने आदि जस्ता कार्य गरी प्रभाव पार्नु तथा उम्मेदवार वा निजको परिवारका सदस्यको चरित्र हनन गरी प्रचारप्रसार गर्नु र कानुनले रोक लगाएका कुराहरु उल्लङ्घन गरी प्रचारप्रसार गर्नु पर्छन्।
साथै मतदातालाई प्रभावित गर्न नगद वा जिन्सी लिनु वा दिनु, निर्वाचनमा खटिएका कर्मचारीले निर्वाचनमा प्रतिकूल प्रभाव पार्नु, शान्ति भङ्ग गर्नु, सुरक्षाकर्मीबाहेकका कुनै पनि व्यक्तिले हातहतियार साथमा लिएर हिँड्नु वा प्रयोग गर्नु, निर्वाचनसम्बन्धी सूचना, मतपत्र, मतपेटिका, आदिजस्ता सामग्रीमा कुनै प्रकारले नोक्सान पु¥याउने जस्ता निषेधित व्यवहार गर्नु तथा गैरकानुनी तवरले मतपत्र लिनु वा दिनु र तोकिएबमोजिम निर्वाचन प्रचारप्रसार नगर्नु, अनधिकृतरुपमा प्रवेश गर्न वा मतगणना स्थल वा निर्वाचनको अन्य काममा बाधा पु¥याउनु, गोप्यता भङ्ग गर्नु, कानुनले तोकेबमोजिम बाहेक सवारी साधन प्रयोग गर्नु, कसुर गर्ने उद्योग गर्नु, मद्दत गर्नु वा दुरुत्साहन गर्नु पनि निर्वाचनसम्बन्धी अपराधमा पर्दछन्।
- निर्वाचनमा अपराध गर्नेलाई कुन हदसम्मको सजाय हुने व्यवस्था छ?
आचार संहिता उल्लङ्घन गरेको लिखित वा मौखिक उजुरी प्राप्त भएपछि आचार संहिता विपरितका कामकारवाही गर्ने सम्बन्धित पक्षलाई निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी वा आयोगले गठन गरेको अनुगमन टोलीको आदेशबमोजिम कारवाही हुन्छ। स्थानीय प्रशासन वा प्रहरीलाई निर्वाचन कसुर गरेवापत कारवाही गर्न लेखी आएमा त्यस्तो काम गर्नेलाई कारवाही गर्नुपर्छ।
निर्वाचनमा कसुर गर्ने व्यक्तिलाई निर्वाचन ९कसुर र सजाय० ऐन, २०६३ को परिच्छेद ३ अनुसार कसुरको मात्रा हेरी १०हजार रुपैयाँदेखि ५०हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था गरिएको छ। कसुर गर्न वा गराउन उद्योग गर्ने, मद्दत गर्ने वा दुरुत्साहन गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुन्छ।