
विराटनगर । विराटनगरमा पहिलो पटक ‘हिमालय रोड किताब मेला’ आयोजना गरिएको छ । पठन संस्कृति हराउँदै गएको बेला यसको पुनर्जागरण गर्ने उद्देश्यका साथ किताब मेला आयोजना गरिएको हो ।
मेलाले पुस्तक, पाठक र साहित्यबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ । मेलामा पुस्तक प्रदर्शनीसँगै साहित्य, भाषा, कला, संस्कृति तथा नेपाली वाङ्मयसँग सम्बन्धित बहस र अन्तरक्रिया समेत गरिएको थियो ।
मेलाको पहिलो सत्रमा ‘विराटनगरमा साहित्य : विगतदेखि वर्तमानसम्म’ विषयमा चर्चा गरिएको थियो । अग्रज साहित्यकार खेम नेपाली, निर्मला कोइराला र कर्ण सञ्जयले विराटनगर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उर्वर भूमि भएको उल्लेख गर्दै यस क्षेत्रको साहित्यिक योगदानलाई संस्थागत रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

पत्रकार नितु सेनले सहजीकरण गरेको उक्त सत्रमा विराटनगरले विभिन्न कालखण्डमा साहित्यिक आन्दोलन, प्रकाशन र सिर्जनात्मक अभ्यासमा नेतृत्वदायी भूमिका खेलेको चर्चा गरिएको थियो ।
दोस्रो सत्रमा ‘नेपाली वाङ्मय र विराटनगर’ विषयमा अन्तरक्रिया भएको थियो । कवि मनु मञ्जिल, लेखक दिनेश श्रेष्ठ र सगुना शाहले नेपाली साहित्यको विकासमा विराटनगरको ऐतिहासिक योगदानमाथि विमर्श गरेका थिए ।

युवाकवि धीरज राईले सहजीकरण गरेको उक्त कार्यक्रममा साहित्य सिर्जना, प्रकाशन, वैचारिक बहस तथा पाठकीय संस्कृतिको विस्तारमा विराटनगर देशकै अग्रणी केन्द्रमध्ये एक रहेको धारणा व्यक्त गरिएको थियो ।
मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय प्रकाशन संस्थाका पुस्तकहरू प्रदर्शनीमा राखिएका थिए । पाठकलाई २५ प्रतिशतसम्म छुटमा पुस्तक खरिद गर्ने सुविधा उपलब्ध गराइएकाले विद्यार्थी, युवा पुस्ता तथा पुस्तकप्रेमीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

दिगो विकास इन्स्टिच्युट, ग्रिनसिटी भोलेन्टियर विराटनगर, नर्थ-साउथ कलेक्टिभ्स, पुस्तक बिक्रेता, स्थानीय साहित्यकार तथा जागरुक युवाहरूको संयुक्त पहलमा मेला आयोजना गरिएको हो ।

संगालोखबर 

















