काठमाण्डौ, २० मंसिर । दोस्रो चरणअन्तर्गत मंसीर २१ गते (बिहीबार) हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि यातायात बन्द हुने भएको छ ।
सरकारले मध्यराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै सवारी चालकलाई आग्रह गरेको छ । गृहमन्त्रालयका अनुसार दोस्रो चरणअन्तर्गत भोली मतदान हुने ४५ जिल्लामा गाडी चलाउन पाइने छैन । मतदान हुने दिन बेलुका सात बजेसम्मका लागि यातायातमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
भोली मतदान हुने जिल्लामा एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका सवारी साधन सञ्चालनमा हुनेछ । त्यस्तै सुरक्षा निकायका गाडी र चुनावी प्रयोजनको लागि सवारी पास लिएका गाडीहरु सञ्चालन हुनेछन् । माथिका अत्यावश्यक बाहेकका अन्य गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि २१ गते निर्वाचन हुने जिल्लामा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।