चितवन, १८ मंसिर । मानव बेचविखनको रुप बदलिन थालेको भन्दै चितवनका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। चितवनको भरतपुरमा मंगलबार माइती नेपालले आयोजना गरेको अन्तर्क्रियाका क्रममा अधिकारकर्मीहरुले मानव बेचविखन मानव तस्करीमा बदलिएको भन्दै चिन्ता जनाएका हुन्।
माइती नेपालकी कानुनी अधिकृत तथा अधिवक्ता सजनी जोशीले कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार विभिन्न अंग बेचविखन तथा छालाको व्यापारका लागि मानव तस्करी हुने गरेको पाइएको बताइन्।
‘पछिल्लो समयमा स्किन झिक्ने क्रम देखिएको छ’, जोशीले भनिन्, ‘यस्ता घटनाहरु समेत देखिन थाल्नु चुनौतीको विषय हो।’ रोजगारीका लागि भन्दै विदेश विदेश पुर्याएर छाला झिक्ने गरेको भन्दै उनले यस्ता छालाहरु खत मेट्न, स्वरुप बदल्न प्रयोग हुने गरेको बताइन्।
चितवनका जिल्ला न्यायाधीस कुलप्रसाद शर्माले मानव वेचविखनको रुप बदलिएर मानव तस्करमा पुग्नु दुखद भन्दै यसको नियन्त्रणका लागि सरोकालवाला निकायको सामूहिक प्रयासको खाँचो रहेको बताए।
हालै माइती नेपालको प्रयासमा उद्धार गरिएकी एकजना पीडित महिलाले आफूलाई राम्रो जागिर भनेर ओमन लगे पनि २४ घण्टासम्म काममा खटाएर शोषण गर्ने गरेको बताइन्।
त्यस्तो समस्यामा सयौं नेपाली महिलाहरु परिरहेको समेत उनको भनाइ छ। कार्यक्रममा बोल्दै अर्का न्यायाधीश सूर्यबहादुर थापाले गाउँतह मै चेतनामूलक कार्यक्रम जरुरी रहेको भन्दै स्वदेशकै विमानस्थलबाट वैदेशिक रोजगारमा जाने हो भने पनि घटनाहरु कम हुने उल्लेख गरे।
नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष गोविलाल देवकोटाले मानव वेचविखनको स्वरुप बदलिएको भन्दै गाउँमा जिम्मेवार निकायलाई भेटेर परिचयपत्र देखाउँदै कामका लागि मान्छे लाने भनेर तस्करी हुने क्रम बढेको उल्लेख गरे।
माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले स्नातक पढेकाहरु समेत तस्करमा परेको भन्दै जुनसुकै समुदायसमेत प्रलोभनमा प्रभावित हुने गरेको उल्लेख गरे। चितवनमा माइती नेपालले सचेतनामूलक कार्यक्रमसँगै पीडितहरुको उद्धार तथा संरक्षणमा काम गर्दै आएको गिरीको भनाइ छ।