काठमाडौं, १८ मंसिर । ललितपुर महानगरपालिका २५ स्थित भैंसेपाटी–सैबुमा बम भेटिएको छ ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको सैबुस्थित घरको गेटमा अज्ञात समूहले बम राखेको प्रहरीले जनाएको छ ।
बिहान १० बजेको समयमा मोटरसाइकलमा आएका अपरिचित ६ जनाले गेटमा बम राखेर फरार रहेको बताइएको छ । बम राखेर भागेसँगै भण्डारीका आफन्तले प्रहरीमा खबर गरेसँगै नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानमा पुगेको छ ।
ललितपुर प्रहरीका अनुसार अहिले सेनाको टोलीबाट बम डिस्पोज गर्ने काम चलिरहेको छ ।
चुनावको मिति तजिकिँदै जाँदा राजधानीका विभिन्न स्थानमा बम आतंक बढेको छ ।
सोमबारमात्रै पनि बालुवाटारस्थित सभामुखको निवास नजिकै बम भेटिएको थियो भने चपलीमा भएको विस्फोटमा कांग्रेस नेता गगन थापासहित ११ जना घाइते भएका थिए ।
बम विस्फोटका घटना बढ्न थालेपछि राजधानीबासी त्रसित भएका छन् ।