काठमाडाै‌, १६ मंसिर । धेरै मानिसको आवतजावत हुने काठमाडौंका बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा श्रमजीवी महिला उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ।

Advertisement

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा चेन्ज नेपालले हालै गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनिका रहेका र उनीहरुको यौन शोषण हुने गरेको पाइएको हो।

कलंकी तथा त्यस आसपास क्षेत्रका होटलमा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई काममा लगाइएको छ। अनुगमनका क्रममा भेटिएका करिब २० किशोरी काठमाडौँ उपत्यका बाहिरका थिए। अधिकांश किशोरीले आफ्नो उमेर ढाँटेर परिपक्व उमेर भएको (१८ भन्दा माथि) बताएका थिए।

कम उमेरका बालबालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण गर्दा सम्बन्धित जिल्लाको बालकल्याण समितिको सिफारिश आवश्यक पर्ने भए पनि त्यसको बेवास्ता गर्दै मनोरञ्जनका क्षेत्रमा बालबालिकाको ओसारपसार भइरहेकामा चेञ्ज नेपालका कार्यकारी निर्देशक प्रमेश प्रधानले बताए।

व्यावसायिक रुपमा यौनशोषण हुने क्षेत्रमा कम उमेरका बालिका र किशोरीको उच्च माग रहने गर्छ। उनीहरुको रुप, रङ र उमेरका आधारमा पारिश्रमिक निर्धारण हुने गरेको छ। यस्ता बालिकाका ग्राहकका रुपमा विभिन्न उमेर समूहका पुरुष तथा भरियादेखि प्राध्यापकसम्म फेला परेका छन्।

महिला तथा बालबालिका विकास कार्यालयकी प्रमुख अनिता अधिकारीले बालिका र किशोरीलाई प्रलोभनमा पारेर यौन कार्यमा लगाउनु गम्भीर अपराध भएको बताईन्। त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानूनबमोजिम दण्डित गर्नुपर्नेमा उनको जोड छ। रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!