तेह्रथुम, १४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावपछि वामपन्थीहरुको बहुमतको सरकार बन्ने बताएका छन ।

Advertisement

तेह्रथुमको म्याङलुङ्गमा संयुक्त बाम गठबन्धनले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईलेभने, ‘म सिंहवाहिनी मन्दिरको अगाडि बसेर घोषणा गर्छु, अब यो देशमा पचास वर्षसम्म बामपन्थीको एकलौटी सरकार बन्छ ।’

वाम एकताले नेपाली कांग्रेस आत्तिएको र प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले जथाभावी बोल्दै हिड्न थालेको भन्दै नेता भट्टराईले कांग्रेसले अब थोरैमा पचास वर्षजति प्रतिपक्षीमा बस्ने तयारी गर्नुपर्ने बेला भएको दाबी समेत गरेका छन ।

‘अब वाम पन्थीहरुको प्रतिपक्षमा बस्ने पालो सकियो,’ नेता भट्टराईले भने, ‘वाम गठबन्धनको बहुमत सुनिश्चित छ, चुनावपछि पौषको पहिलो साता वामपन्थीको सरकार बन्छ ।’

उनले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन । भारतको डरले भाग्दै गरेको कांग्रेसलाई आफूहरुले तानेर ल्याएर सविधानको कागजमा सही गर्न लगाएको नेता भट्टराईको भनाइ छ ।

ताप्लेजुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार रहेका भट्टराई १० मंसिरमा चुनाव सकेर छिमेकी जिल्लाको चुनावी सभामा सहभागी हुन आउनुभएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक आङबुहाङले चुनावपछि लगत्तै पार्टी एकता हुने दाबी गरेका छन ।

कार्यक्रममा एमाले नेता तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार विजय सुब्बा, प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार भवानीप्रसाद खापुङ, प्रदेश सभा (९क) क्षेत्रका उम्मेदवार जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार तेजमान कन्दङवा, प्रतिनिधि सभाकी समानुपातिक उम्मेदवार सुशिला कन्दङवा, प्रदेश सभाका समानुपातिक उम्मेदवार अनुभूतिबम नेपाली, जिल्ला उपाध्यक्ष सन्जय तुम्बाहाम्फे लगायत नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रम संयुक्त बाम गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक दुर्गाप्रसाद चापागाईको अध्यक्षतामा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!