बाबियाचौर, म्याग्दी, १४ मंसिर । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रु ११ करोडको लागतमा आयोजना शुरु भएको छ ।
जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु गरेको हो ।
चालु आव २०७४७५ मा नदी कटान नियन्त्रणका लागि दुई वटा प्याकेजमा काम गर्न रु ११ करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको सब डिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले जानकारी दिए ।
मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनार, म्याग्दी र कालीगण्डकीको दोभान, तगा कालीपुलस्थित कालीगण्डकी नदीको दयाँ किनारमा ३५९ मिटर रिटेनिङ र आरसिसी पर्खाल निर्माण गर्न रु पाँच करोड २६ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको समानान्तर बिएन जेभीले कार्यक्षेत्रमा काम शुरु गरिसकेको छ ।
एक वर्षको ठेक्का अवधि भए पनि बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको समानान्तर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले बताए ।
आव २०७१७२ देखि ७३७४ को अवधिमा कालीपुलमा रहेको मोटरेबल पुलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडिसम्म ३९३।५ मिटर आरसिसी पर्खाल निर्माण भइसकेको छ । नदी किनारमा निर्माण हुने आरसिसी पर्खाल ७।५ मिटर र मेसिनरी पर्खाल पाँच मिटर अग्लो हुनेछ ।
आव २०७६७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिब एक हजार घर रहेको बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ ।
यसअघि नदी किनारमा तारजाली ग्याबिन भरेर पर्खाल लगाउँदै आए पनि अहिले कटानको समस्या दिगोरुपमा समाधानका लागि गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको थियो । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।