
हेटौडा, १३ मंसिर । कुटपिटका घटनाका आरोपीलाई पक्राउ गर्न जाँदा इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरले ७ थान भरुवा बन्दुक बरामद गरेको छ ।
मंगलबार बकैया गाउँपालिका वडा नं ११ गमलटारका ४४ वर्षीय सेते घलानले स्थानीय ठुलीमाया घलानलाई कुटपिट गरेको भन्ने सुचना प्राप्त भएपछि सेते घलानलाई नियन्त्रमा लिने क्रममा उनको घरमा भरुवा बन्दुक समेत रहेको भन्ने जानकारी प्राप्त गरेको थियो ।
सोको आधारमा सेते घलान लगायत अन्य व्यक्तिको घर खानतालसी गर्दा ७ वटा भरुवा बन्दुक बरामद गरिएको जिप्रका मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार भरुवा बन्दुकसहित सेते घलानको घरमा ३ नाल भुरुवा बन्दुक भेटिएको र उनलाई पक्राउ गरिएको छ ।
यस्तै गमलटारकै दसरथ घलानलाई पनि १ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको छ । यस्तै तिर्थ बहादुर घलानको घरबाट २ नाल भरुवा बन्दुक , गणेश न्यासुरको घरबाट १ नाल भरुवा बन्दुक बरामद पनि प्रहरीले जनाएको छ ।
प्रहरीले फरार रहेका तिर्थ बहादुर घलान र गणेश न्यासुरको खोजी कार्य भैरहेको पनि जनाएको छ ।




















