हुम्ला, १२ मंसिर । हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् ।
हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ ।
‘हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको हो,’ प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले भने।
उनको अनुसार विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा, को-पाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठ घाइते छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।
अन्य ११ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेका उद्धारका लागि हेलिकप्टर पठाइएको छ,’ उनले भने ।
जहाजमा चुनावमा सुरक्षाका लगाि गएका १३ जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थिए ।