बुटवल, १२ मंसिर । अव्यवस्थित बसोबासीले आफूहरुलाई रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् ।

Advertisement

बुटवलको सबैभन्दा बढी अव्यवस्थित तथा सुकुम्बासी बस्ती बसोबास गर्ने वडा नं ११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपूर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अबको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।

उक्त वडामा सोमबार स्थानीय बासिन्दाको घरदैलोमा पुगेका वाम गठबन्धनका उम्मेदवारहरुसँग उनीहरुले यस्तो माग गरेका हुन् । एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेल र प्रदेशसभा १ का उम्मेदवार लीला गिरीसहितको घरदैलोका क्रममा स्थानीयवासीले आफूहरुको मागप्रति संवेदनशील भइदिनसमेत आग्रह गरेका छन् ।

वाम गठबन्धनको घोषणापत्रमा अव्यवस्थित र भूमिहीनलाई उचित बसोबासको व्यवस्था गर्ने विषय उल्लेख भएको र यो निकै सकारात्मक रहेको उल्लेख गर्दै उनीहरुले आफूहरुका समस्या सम्बोधनको ग्यारेन्टी भए वाम गठबन्धनका उम्मेदवारलाई सघाउन तयार रहेको वचन दिएका छन् ।

“जसले घरबासको टुंगो लगाइदिन्छ उसैलाई भोट दिने हो”, प्रगतिनगर टोल संस्थाकी शारदा भण्डारीले भने । सुन्दरनगरस्थित सुकुम्बासी टोलकी शकुन्तला परियारले विगतमा आश्वासनमात्रै पाएको भन्दै यसपटक घोषणापत्र हेरेर घरबासको व्यवस्था हुनेमा आशावादी भएको बताए ।

स्थानीयवासीको गुनासो सुनेपछि एमाले उपमहासचिव एवं क्षेत्र नं २ का उम्मेदवार पौडेलले अव्यवस्थित बसोबासीको व्यवस्थापनको जिम्मा वाम गठबन्धनले लिने बताए । उनले अबको चुनावपछि वाम गठबन्धनले बहुमत ल्याउने र त्यसपछि सुकुम्बासी समस्या हल हुने प्रतिबद्धता व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!