उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो 
वि.सं. २०७४ साल मंसिर १० गते। आइतबार। इश्वी सन् २०१७ नोभेम्बर २६ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– अष्टमी, २९:४५ बजेउप्रान्त नवमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी रोकिनाले योजना स्थगन गर्नुपर्ला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
फाइदा कमै भए पनि तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। चिताएको काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा सामान्य लाभ हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम सुरु हुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
वादविवादले पुरानो सम्झौता भंग हुने सम्भावना छ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। प्रेम र दाम्पत्यमा असमझदारी बढ्न सक्छ। यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अस्वस्थताले केही कमजोर भएको अनुभूति हुनेछ। तापनि, लगनशीलताले काममा फाइदा दिलाउनेछ। अध्ययन तथा बौद्धिक प्रतिस्पर्धामा पनि लाभ हुनेछ। प्रतिष्ठित कामले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। समयमा सजग रहँदा लक्ष्यमा पुग्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिनेछन्। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। हडबडीले काम बिग्रन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!