काठमाडौँ, ९ मंसिर । रक्षामन्त्री भीमसेन दास प्रधानले निर्वाचनको सुरक्षामा नेपाली सेनाको सक्रियता बढेको बताएका छन् ।
शनिवार काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै रक्षामन्त्री भिमशेन दास प्रधानले निर्वाचनलाई असर गर्ने बाधा पुर्याउने सबै पक्राउ परिसकेको पनि बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै रक्षामन्त्री प्रधानले पहिलोपटक यस्तो खुलासा गरेका हुन् । निर्वाचनविरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको उनको खुलासा थियो । उनले भने,‘निर्वाचन जुनसुकै हालतमा निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्, निर्वाचन विथोल्न खोज्ने विप्लव समूहका नेताहरुलाई नेपाल सरकार खासगरी सुरक्षा संयन्त्रले अहिले व्यापक खोजि गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्, तर खोजि कार्य जारी छ।’
मन्त्री प्रधानले सरकार अहिले विप्लव समूहसँग वार्ता गर्ने अवस्थामा नरहेको स्पष्ट पारे । उनले भने,‘चुनावको मुखमा हामी उहाँहरुसँग वार्ता गर्दैनौं, गरेपनि हामी चुनावपछि गर्छौं, हामी हिट एण्ड रनको पक्षमा छैनौं, यदि विप्लव समूह वार्तामा आयो भने हामी उहाँहरुको कुरा सन्न तयार हुन्छौं।’ संविधान ल्याउनको लागि विप्लव समूहको पनि भूमिका भएकोले आफूहरु वार्ताको लागि तयार हुने उनको भनाई थियो ।
उनले अब कसैले चाहेर पनि निर्वाचन विथोल्न केही गर्न नसक्ने दाबी गर्दै भने,‘निर्वाचन विथोल्न चाहने तत्वहरु करिब २ हजार जनाको हामीले लिष्ट बनाएका छौं, अहिलेसम्म करिब ५ सय जनालाई गिरफ्तार गरिसकिएको छ, ती मध्ये धेरै तत्वहरुको त अहिले भागाभाग भैरहेको छ।’
नेपाली सेनाले मतदान स्थलको सुरक्षा, मतदान पछि मतपेटिकाको सुरक्षा लगाएतको जिम्मा लिएकोले मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान पनि गरे । रक्षामन्त्री प्रधानले सुरक्षाको सम्पूर्ण व्यवस्था भएकोले ढुक्क भएर मतदान गर्न पनि अनुरोध गर्नु भयो ।
साक्षात्कारमा मन्त्रि प्रधानले पहिलो चरणमा निर्वाचन हुने सबै ३२ जिल्लाका मतदान केन्द्रमा सेना पुगिसकेको र आवश्यक मद्दती फोर्स समेत तयारी आवस्थामा रहेको जानकारी दिए । पहिलो चरण र दोश्रो चरणमा करिब ६४ हजार बढी नेपाली सेना परिचालन हुँदैछ ।
सेनालाई सरकारले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायतको जिम्मा दिएको छ । दुई चरणमा हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा सेनालाई तेस्रो घेरामा परिचालन गर्ने सरकारले निर्णय यसअघि नै गरिसकेको छ ।