तेह्रथुम, ९ मंसिर । नेपाली कांग्रेस सम्बद्ध लोकतन्त्रबादी युवाहरुको संगठन नेपाल तरुण दल तेह्रथुमले पार्टी छाड्ने जिल्ला उपाध्यक्ष उदयदीप सुब्बालाई निष्कासन गरेको छ ।
जिल्ला अध्यक्ष विपीन निङ्लेकुले एक प्रेश विज्ञप्ति जारी गर्दै सुब्बालाई दलको उपाध्यक्ष पद तथा साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको जानकारी दिनुभएको हो ।
छथर गाउँपालिका–५, शुक्रबारे बजार निवासी उदयदिप सुब्बा दलको साधारण सदस्य हुँदै दुई वर्षअघि जिल्ला अधिवेशन पछि उपाध्यक्ष पदमा मनोनित भएका थिए ।
सुब्बाले लोकतन्त्र र नेपाली कांग्रेसको सिद्धान्त र विचारबाट स्खलित भई लोकतान्त्रिक पद्धति र मुल्य मान्यताको विरुद्धमा उत्रिएको सिद्धान्तहिन र अधिनायकबादीहरुको उक्साहटमा बरालिएर अन्य पार्टीमा गएको हुँदा निजलाई बर्खास्त गरिएको विज्ञप्तिमा भनिएको छ ।
साथै सुब्बाले तरुण दलको नामबाट कुनै कारोबार गरे त्यसबारे जिम्मेवार नहुने समेत विज्ञप्तिमा भनिएको छ ।