धनकुटा, ८ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउँन बाम गठबन्धन धनकुटाका तीनै जना उम्मेदवारलाई जिताउँन आवश्यक रहेको बताएका छन ।
बाम गठबन्धनले शुक्रबार सिंधुवा बजारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले उस्तो बताएका हुन ।
बाम गठबन्धनको बहुमतले मात्र धनकुटा प्रादेशिक राजधानी बन्न सक्ने भन्दै भण्डारीले प्रतिनिधिसभामा राजेन्द्र राई, प्रदेशसभा १ मा निरन राई र २ मा ईन्द्रमणी पराजुलीलाई जिताएर धनकुटालाई राजधानी बनाउँने बाटो सहज बनाउँन मतदातालाई आग्रह गरेका हुन ।
प्रदेशसभाको निर्णयले प्रादेशिक राजधानी तोक्ने भएकाले प्रदेशमा पहल गर्न र केन्द्रमा समर्थन गर्न बाम गठबन्धनका तीनै जना उम्मेदवारलाई जिताउँनुपर्ने नेता भण्डारीको तर्क छ ।
बामहरुकै संघर्षका कारण लोकतन्त्र संविधानसभा र सिहदरबारको अधिकारसमेत जनताले पाएको उनको भनाई छ ।
कार्यक्रममा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेदवार राजेन्द्र राई, क्षेत्र नं.२ बाट गठबन्धनका उमेदवार ईन्द्रमणी पराजुली, जिल्ला समन्वयन समितिका सभापति टंक चुवान लगायतले पनि बाम गठबन्धनको जितले मात्र धनकुटाको विकासले गति दिने दावी गरेका छन ।