तेह्रथुम, ६ मंसिर । नेपाली कांग्रेसका नेता तथा पुर्वंसांसद गणेश विमलीले महिला अधिकारको सुनिश्चितताका लागि संसदमा महिलाको प्रतिनिधित्व अनिवार्य रहेको बताउनुभएको छ ।
जिल्लामा महिला अधिकारको क्षेत्रमा वर्षौदेखि गतिविधि भएको भन्दै उहाँले सबै महिला अधिकारकर्मीहरु एकजुट भएर अब महिलाका अधिकार स्थापित गर्न महिलालाई जिताएर पठाउनुपर्ने बेला भएको बताउनुभयो ।
आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा मंगलबार नेपाल महिला संघले आयोजना गरेको क्षेत्रीय महिला भेलालाई सम्बोधन गर्दै नेता बिमलीले महिला अधिकारकर्मीहरुको परीक्षाको घडी आएको बताउनुभयो ।
उहाँले सबै महिला अधिकारकर्मीहरु एक भएर प्रतिनिधि सभामा उम्मेदवार रहनुभएकी जिल्लाकै लोकप्रिय युवा महिला नेतृ तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङलाई विजयी गराउन आग्रह गर्नुभयो ।
उहाँले लोकतन्त्रको रक्षा र आफुले उपभोग गर्ने अधिकारको ग्यारेण्टीका लागि समेत कांग्रेसको विकल्प नभएको धारणा राख्नुभयो । भेलामा नेपाली कांग्रेसका पुर्वजिल्ला उपसभापति हरिप्रसाद डाँगी, कांग्रेसका महाधिवेशन प्रतिनिधि भीष्म थपलिया र नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष निर्मला ईङनाम लगायतले मन्तव्य राख्नुभएको थियो ।
भेलाले आठराई गाउँपालिकाका सबै वडाहरुमा वडास्तरीय नेपाल महिला संघ गठन गरेको छ । यस्तै विष्णुमाया आचार्यको अध्यक्षतामा गाउँपलिकास्तरीय नेपाल महिला संघ गठन भएको छ ।
यस्तै चुहानडाँडामा १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । चुहानडाँडामै कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन कमिटी गठन भएको छ । कार्यक्रम नेपाल महिला संघ क्षेत्रीय चुनाव प्रचार समितिकी अध्यक्ष शनिशा भेटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।