
सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । सीडीयो सरुवा प्रकरणको मुख्य कारण निर्वाचनमा सरकारको नेतृत्व गर्ने दलले आफ्नो अनुकूलका व्यक्ति चयन गर्नु रहेको स्रोतको दावी छ । तर गृह स्रोतका अनुसार चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै उनीहरूको सरुवा गरिएको जनाएको छ । गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो ।
निर्वाचन सुरक्षाको कारण देखाएर सरुवा गरिएका कतिपय सीडीओ चार महिना पनि नहुँदै परिवर्तन भएका छन् । गृहले छिटोछिटो सीडीओ परिवर्तन गर्ने पुरानै शैलीलाई निरन्तरता दिएको छ ।
भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका छन् । त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेल पनि सरुवामा परेकी छन् । गृह प्रवक्ता नारायण शर्माले निर्वाचन सुरक्षा व्यवस्था र अन्य व्यवस्थापकीय कारणले चार जिल्लाका सीडीओ परिवर्तन गर्नुपरेको जनाए ।
सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।















