
दार्चुला, ६ मंसिर । हरेक वर्ष दार्चुला र धारचुलामा नोभेम्बर महिनामा लाग्ने ऐतिहासिक जौलजीवि मेलाको एक हप्तामै करोडौको ब्यापार हुने गरेको छ । धार्मिक, सांस्कृतिकसंगै व्यापारिक रुपमा महत्वपुर्ण मानिने मेलामा नेपाल भारत र चीनको सामान र संस्कृति देख्न पाइन्छ ।
स्थानीय बजारको तुलनामा केहि सुपथ मुल्यमा समानहरु पाइने भएकाले पनि दार्चुला, बैतडी लगायत सुदुर नेपालका केहि जिल्लाहरु, भारतको उत्तराखन्डका ब्यापारी र ग्राहकहरुको जौलजिबिमा घुइँचो लाग्ने गरेको छ ।
मेलाका लागि एक हप्ता पहिले तिब्बत लगायत नेपाल र भारतका विभिन्न क्षेत्रबाट व्यापारी जौलजीवि पुग्ने गर्छन ।
त्रिदेशीय सीमा कैलाश मार्गमा नेपाल भारत भएर बग्ने काली र गोरी नदीको संगमस्थलमा हरेक बर्ष लाग्ने मेलामा हजारौ दर्शक, ब्यापारी र ग्राहकहरुको घुइँचो लाग्ने गरेको छ ।
व्रिटिशकालमा अस्कोट पाल बंशवलीबाट यो मेला शुरु भएको किम्बदन्ती छ । काली र गौरीको दोभानमा लाग्ने यो मेलामा प्राचिन समयमा टाढाबाट व्यापारीहरु नआउने भएपनि १९१४ मा तत्कालीन अस्कोटका राजा गजेन्द्र बहादुर पालले जौलजीवि ब्यापार मेलाको सुरुवात गरेको इतिहास छ ।
शुरुमा भारतका काशीपुर, रामनगर, मुरादाबाद, बरेली लगायतका व्यापारी बोलाएर मेला शुरु गरेको पाल बंशावलीमा उल्लेख छ । त्यसपछि मेलाको विस्तार हुँदै तिब्बतीयन व्यापारी सँग सम्पर्क हुँदै हाल आएर तीनै देशमा पाइने सामानहरु जौलजीवि मेला अवधिभर देख्न र किनबेच गर्न पाइन्छ ।
मेलामा ब्यापार गर्न हरेक बर्ष हुम्ला, जुम्ला, बाजुरा, बझाङ लगायत हिमाली जिल्लाबाट सयौ घोडाहरु जौलजिबि ल्याइने गरेका छन् । दार्चुला, बैतडि र उत्तराखण्ड भारतको भु भाग ग्रामिण सडक सञ्जालमा नजोडिदासम्म बर्षेनी मेलामा सयौ घोडाको किनवेच हुनेगरेकोमा अहिले ब्यापार घटेको जुम्लाका ब्यापारी जयकृष्ण धरालाले बताए ।
यो बर्ष जुम्ला, बाजुरा र बझाङ जिल्लाबाट ७५ वटा घोडाहरु ल्याएको भएपनि ब्यापार हुन नसकेको ब्यापारीहरुले बताएका छन । घोडाहरु हेरेर ५० हजारदेखी १ लाख ५० हजारसम्म बिक्रि गर्ने गरेको ब्यापारी धरालाले बताए ।















