बारा, ४ मंसिर । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयाको एक होटलमा ३ जना भारतीय नागरिकले खाजा खाए । त्यसको पैसा तिर्न उनीहरुले भारु २ हजारको नोट निकाले ।

तर, त्यो त्यहाँ साटिएन । नजिकैको राजेन्द्र खतिवडाको किराना पसलमा ती भारतीय नागरिक पैसा साट्न गए । खतिवडालाई ती नोटप्रति शंका लाग्यो । र, प्रहरीलाई खबर गरे ।

Advertisement

लगत्तै, ती भारतीय नागरिक प्रहरीको फन्दामा परे ।

इलाका प्रहरी कार्यालय, पथलैयाको टोली पुगेर ३ जना माथि केरकार गर्दा थाहा भयो, उनीहरुसँग उस्तै नम्बरका १८ थान २ हजारका नोट रहेछन् ।

आइतबार इलाका प्रहरी कार्यालय सिमराले पत्रकार सम्मेलन गरी नक्कली नोटको कारोबार गर्ने उनीहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत लखनउ, नवस्थाका ५० वर्षीय कृष्णपाल सिंह, सोही स्थानका ४२ वर्षीय भुषण सिंह र भारत सितापुरका २६ वर्षे सन्नी सिंह छन् ।

उनीहरुले प्रयोग गरिरहेको एक भारतीय नम्बर प्लेटको बुलेरो गाडी समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुको गाडी चेकजाँच गर्दा नक्कली नोट साटेर लिएको केही नेपाली नोट समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धानपछि मुद्दा चलाइने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!