दोहा, १ मंसिर । आप्रवासी कामदारमाथि आर्थिक शोषण भएको गुनासो चुलिरहेको वखत कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि करिब २ सय अमेरिकी डलर न्यूनतम मासिक तलब तोकेको छ ।

विभिन्न मानव अधिकारवादी संस्थाहरुले आप्रवासी कामदारमाथि शोषण भएको जनाउँदै आलोचना गरिरहेका थिए । यस्तो बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल ९झण्डै २ सय अमेरिकी डलर तोकेको स्रोतले जनाएको छ ।कतारको यस निर्णयले वैदेशिक रोजगारका लागि त्यहाँ रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुने भएका छन्।

Advertisement

नेपाली कामदारले अब कम्तिमा २० हजार रुपैयाँ मासिक तलव पाउनेछन् । तर यो तलब अस्थायी रुपमा मात्र तोकिएको कतारी श्रममन्त्री इसा अल नउमीले जनाएका छन् । स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको उनले जानकारी दिए ।

‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, श्रममन्त्रीले भने, ‘सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’

विदेशी कामदारले न्यूनतम तलबका साथै अबदेखि निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन् । पहिलो पटक निर्धारण गरिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

आगामी सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि गरिएको व्यवहारबाट आलोचना खेप्दै आएको थियो । कतारले श्रम मामिलामा सुधारको थालनी सन् २०१५ बाट सुरु गरेको हो ।

अनिवार्यरुपमा कामदारको तलब बैंक खातामा जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै अब विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइरहेको छ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!