
काठमाडौ, ३० कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले घरघरमा मानव अधिकारको संस्कार बसाउन आह्वान गरेको छ ।
मानव अधिकार हनन्का घटना बढ्दै गईरहेका बेला आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको संरक्षणका लागि घरघरमा मानव अधिकारको संस्कार बसाउन आह्वान गरेका हुन् । उनले कानुन कार्यान्वयनको अभावमा नेपालमा बाल अधिकारको संरक्षण हुन नसकेको पनि स्पष्ट पारे ।
विहिबार काठमाडौंमा आयोजित ‘बाल अधिकारको सम्मान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोग अध्यक्ष शर्माले घरघरमा मानव अधिकारको संस्कार बसेमात्रै नेपालको शान्ति र विकासले गति लिने विश्वास पनि व्यक्त गरे ।
आयोगका अध्यक्ष शर्माले स्थानीय निकायसँग सहकार्य गरेर मात्रै बाल अधिकारको संरक्षण गर्न सकिने पनि स्पष्ट पारे ।स्थानीय तहकोसम्बन्ध घरघरमा हुने भएकाले पनि बाल अधिकारको संरक्षण गर्न सहज हुने उनको भनाई छ ।
आयोगले नेपालमा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार गम्भिर नभएको आरोप पनि लगाउँदै आएको छ ।















