एजेन्सी, ३० कात्तिक । खगोलविदहरुले सौर्य परिवारबाहिर नजिकै पृथ्वीकै आकारको एक ग्रह फेला पारेका छन्। रोस १२८बी नाम दिइएको यो एक्जोप्लानेट (सौर्य परिवारबाहिर कुनै तारालाई फेरो मार्ने ग्रह) मा सम्भावित जीवनको खोजी गरिने बताइएको छ।

Advertisement

चिलीको ला सिल्ला अब्जरभेटरीका वैज्ञानिकहरुको टोलीले ‘हाइ एक्युरेसी रेडियल भेलोसिटी प्लोनट सर्चर’ (हार्प्स) को उपयोग गरी यो ग्रह पत्ता लगाएका हुन्।

यो पृथ्वीबाट मात्र ११ प्रकाश वर्ष टाढा छ र पृथ्वीको दोस्रो सबैभन्दा नजिकको एक्जोप्लानेट हो।

पृथ्वीबाट सबैभन्दा नजिककको प्रोक्सिमा बी नामक एक्जोप्लानेट जीवनका लागि कम उपयुक्त रहनसक्ने बताइएको छ।

रोस १२८ बीले पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने दूरीभन्दा २० गुणा कम दूरीबाटै आफ्नो तारा (रोस १२८) लाई परिक्रमा गर्दछ। तर सूर्यभन्दा निकै सानो र कम ताप भएको ताराको परिक्रमा गर्ने हुनाले यो ग्रहमा पृथ्वीमा जत्तिकै तापक्रम रहने अनुमान गरिएको छ।

यो ग्रहको खोजीकर्तामध्ये एक स्वीट्जरल्याण्डको जेनेभा अब्जरभेटरीकी वैज्ञानिक निकोला अस्टुडिलो डेफ्रुले हार्प्स उपकरणको सहयोगले एक दशकभन्दा लामो समयको सघन खोजपछि यो ग्रह फेला पारिएको बताइन्।

सौर्य परिवारभन्दा बाहिर सम्भावित जीवनको खोजी गर्दा वैज्ञानिकहरुले सामान्यतयाः पृथ्वीजस्तै कम पिण्ड भएको, चट्टानयुक्त र कम तापक्रम भएका ग्रहहरुलाई नियाल्ने गर्दछन्।

तर यस्ता ग्रहहरु पत्ता लगाउन तुलनात्मक रुपले गाह्रो हुन्छ। हालसम्म पत्ता लगाइएको करिब ३५०० एक्जोप्लानेटमध्ये धेरैजसो ‘हट जुपिटर’हरु छन्। जसले नजिकैबाट आफ्ना ताराहरुलाई परिक्रमा गर्छन् र तिनमा सम्भवतः जीवनका लागि उपयुक्त वातावरण हुँदैन।

कम संख्यामा रहने पृथ्वीजत्रै अन्य यस्ता ग्रहहरुमध्ये धेरैजसोले ‘रेड ड्वार्फ’ भनिने मधुरो ताराहरुलाई परिक्रमा गर्छन्। यिनीहरुलाई पत्ता लगाउन केही सहज हुने गर्छ किनभने यिनीहरु पार हुँदै गर्दा आफ्नो ताराको उज्यालोलाई छेक्ने गर्छन्।

तर यस्ता ग्रहका ताराहरुले जीवनका लागि उपयुक्त वातावरण नगर्ने सम्भावना ज्यादा हुन्छ। किनभने प्रायःजसो यस्ता ताराहरु हाम्रो सूर्यभन्दा बढी सक्रिय हुन्छन्। अर्थात्, यिनीहरुको सतहमा ठूल्ठूला ज्वालाहरु उठ्ने गर्छन्। ती ज्वालाले नजिकैका ग्रहहरुमा घातक विकिरण पैदा गर्छन् र त्यसलाई जीवनका लागि उपयुक्त बन्न दिँदैनन्।

हाम्रो सबैभन्दा नजिकको प्रोक्सिमा बी एक्जोप्लानेटले पनि यस्तै तारालाई परिक्रमा गर्छ।

तथापि रोस १२८ बीले चाहिँ त्यसवरिपरिका ‘सबैभन्दा शान्त’ तारालाई परिक्रमा गर्नेगर्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!