काठमाडौँ, ३० कात्तिक ।  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ ।

 प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् ।

चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपतिमा भीड लाग्छ ।

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम धानका १०० बीउ छर्ने शास्त्री प्रमाण भएकाले शतबीज भनिएको बताउँछन् ।

 “शतबीजको अर्थ सत्बीज अर्थात् राम्रो बीउ वा सप्तबीज भन्ने अर्थमा पनि लगाउन थालिएको छ, शास्त्रीयरुपमा यो सही होइन, यसै वर्ष दिवंगत भई वर्षान्त नभएकाले बत्ती बाल्ने शतबीज छर्नु पनि हुँदैन भन्ने शास्त्रीय प्रमाण छ”– उनले भने ।

  शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।

  भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

   वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ ।

  यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुद्र्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको र सो गिदीसँगै च्युरा खाँदा झन मीठो भएकाले त्यसै बेलादेखि उनी मुद्र्दाको गिदी खान पल्किए ।

   त्यसपछि मानिसको गिदी खाने कार्य तथा लामा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको किंवदन्ती पनि छ ।

  आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि छर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् डा गौतमले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!