काठमाडौं, २७ कात्तिक । माओवादी केन्द्र निकट वाईसीएल र अखिल (क्रान्तिकारी)ले त्रसादीपूर्ण धम्कि दिएका छन् । आफ्ना नेताहरुमाथि आक्रमण नरोकिएमा आफुँहरुपनि खतरनाक प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले चुनावी अभियानमा रहेका नेता, कार्यकर्ता र जनताको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग पनि गरेका छन् ।

Advertisement

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई लक्षित गरेर भएको आक्रमणको भर्तसना गरेका छन् ।

‘पूर्वमन्त्रीद्वय वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) लाई लक्षित गरी निकृष्ट ढंगले गरिएको कायरतापूर्ण र श्रृंखलावद्ध वम आक्रमणको घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको संघीय गणतन्त्रको वहालीका लागि अतुलनीय भूमिका निर्वाह गरेका जनताका प्रिय नेताहरुको ज्यानै लिनेसम्मको मनसाय राखी गरिएको यो हर्कत हदैसम्म निन्दनीय छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘यस खालका गतिविधि जारी रहे देशभरका लाखौंलाख युवा विद्यार्थी प्रतिवादमा उत्रन वाध्य हुने चेतावनी दिन चाहन्छौं ।’ वाम गठवन्धनपछि सरकारले चुनाव विथोल्न अनेक बहानाबाजी खोजिरहेको र त्यसैलाई बल पुग्नेगरी आक्रमण भएको वाईसीएल र अखिल क्रान्तिकारीको ठहर छ । उनीहरुले यसलाई ‘पश्चगामी सोचको द्योतक’ भनेका छन् ।

आक्रमणमा विप्लव नेतृत्वको नेकपाले गरेको हो भने माफी माग्न र आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनीसमेत दिइएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘यदि विभिन्न सञ्चारमाध्यममा आए जस्तै यो आक्रमण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हो भने अविलम्ब माफी मागेर आगामी दिनमा यो हर्कत नदोहोर्‍याउन चेतावनी दिन चाहन्छौं । साथै मुलुकमा विकसित राजनीतिक परिदृष्यको सामना राजनीतिक रुपमा नै गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दछौं ।’-जनबोली

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!