‘हेवीवेट’ उम्मेदवारका कारण सुरक्षा चुनौती बढेको भन्दै गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले त्यसको सामना गर्न तयार रहेको बताएका छन्। सुरक्षास्थित कायम राख्न कुर्सी नै छाड्नु परेपनि आफुले आपराधीलाई नछाड्ने उनको भनाई छ।

Advertisement

हालै भीमसेन गाउँपालिका धावाबाट गोलीसहित पेस्तोल बरामद भएको र भीमसेन गाउँपालिकाको केन्द्र घ्याम्पेसाल सार्ने निर्णयपछि खुकुरी प्रहारजस्ता घटना घटेको उल्ल्ेख गर्दै बस्नेतले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाए।

माओवादी केन्द्रबाट प्रतिनिधिसभा समानुपातिकतर्फ बन्द सूचीकी उम्मेदवार सुशीला शिंखडा सवार मोटरसाइकलबाट तीन राउण्ड गोली र पेस्तोल बरामद भएको थियो।

‘पेस्तोल बोकेर हिंड्ने भीमसेन ४ का गुणप्रसाद खनालविरुद्ध मुद्दा दर्ता गरेका छौं’, बस्नेतले भने, ‘फरार रहेका उनको खोजी भइरहेको छ भने मोटरसाइकलमै सवार समानुपातिकतर्फ उम्मेदवार शिंखडालाई तारेखमा लिएर अनुसन्धान भइरहेको छ।’

चार हजार सुरक्षाकर्मी
मंसीर १० गते हुने निर्वाचनका लागि गोरखाको दुई प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्रका २८२ वटा मतदान केन्द्रमा चार हजार जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ।

मतपेटिका, कर्मचारी, उम्मेदवारका प्रतिनिधिहरुको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन्। जसका लागि १३ सय भन्दा बढी नेपाल प्रहरी परिचालन गरिँदैछ भने १८५८ जना म्यादी प्रहरी परिचालन गर्न तालीम दिइसकिएको छ।

सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछन्। बाहिरी घेरामा नेपाली सेना हुनेछ। प्रजिअ बस्नेत भन्छन्, ‘निर्वाचनलाई असर पुग्ने कुनै गतिबिधि भएमा सडक सुविधा पुगेका क्षेत्रमा १५ मिनेटदेखि आधा घण्टाको बीचमा पुग्ने गरी सुरक्षाकर्मी परिचालन भइसक्ने व्यवस्था गरेका छौं।’

हेलिकोप्टर चाहियो
बिकट हिमाली भेगमा निर्वाचन सामग्री र मतपेटिकाहरु ढुवानी गर्न तथा हवाइ गस्ती गर्न हेलिकोप्टर माग गरिएको प्रजिअ बस्नेतले बताए। उनले भने, ‘हवाइ गस्ती र निर्वाचन सामग्री बोक्न हेलिकोप्टर चाहिन्छ भनेर मागेका छौं, मौन अवधिदेखि नै हेलिकोप्टरबाट हवाइ गस्ती गर्नुपर्ने हुन्छ।’

रक्तपातबिहीन रुपमा निर्वाचन सम्पन्न गर्ने अभिलासा रहेको बताउँदै प्रजिअ बस्नेतले भने, ‘गोरखा २ मा हेवीवेट उम्मेदवारहरु लोकतान्त्रिक गठबन्धनबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामगठबन्धनबाट पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच चुनावी भिडन्त हुने हुँदा यहाँका सबै मतदान केन्द्र अति संवेदनशील छन्। सो अनुसार नै सुरक्षाको व्यवस्थापन मिलाएका छौं।’

निर्वाचनमा असर पु¥याउन सक्ने आँकलन गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सात जना नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुलाई निर्वाचन अवधिभर थुनामा राख्ने तयारी छ।

दलहरुबीच भएको गठबन्धनले हुने अस्वस्थ चुनावी प्रतिस्पर्धा, निर्वाचन बिरोधी समूहबाट हुने हर्कत, भौगोलिक बिकटता र हिउँ पर्न सक्ने सम्भावना चुनावका चुनौती रहेको जिल्ला सुरक्षा समितिको ठहर छ।

चेकजाँचमा कडाइ
गोरखामा अहिले जनयुद्धका बेला गरिनेजस्तै सवारीमा चेकिङ सुरु गरिएको छ। हातहतियार, तथा खुकुरी बोकेर हिंड्ने युवाहरु भेटिन थालेपछि प्रहरीले गोरखा भित्रिने मुख्य नाकाहरु र भित्रीबजार तथा दोबाटोहरुमा कडा सुरक्षा जाँच गरिरहेको छ।

निर्वाचनमा भोट हाल्न जिल्ला आउनेहरुले आफ्नो परिचय खुल्ने परिचय पत्र साथमा लिएर आउन प्रशासनले सबैमा आग्रह गरेको छ। छिमेकी जिल्ला तनहुँ, चितवनमा पहिलो चरणमा निर्वाचन नभएकाले त्यहाँबाट अनावश्यक युवाहरु आएर निर्वाचन भाँड्न सक्ने भन्दै प्रशासन सजक भएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!