चितवन, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भुल्न खोजेको आरोप लगाएका छन्।

Advertisement

पश्चिम चितवनको पार्वतीपुरमा सोमबार भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले राजतन्त्र पक्षधर राप्रपालाई बोकेर अघि बढ्नु कांग्रेसको गल्ती भएको बताएका हुन्।

राजा फाल्न र गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपी र गणेशमानकोसमेत अपमान हुने प्रचण्डले दावी गरे। ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाबाबुको अपमान हुन्छ, गणतन्त्र र संघीयताको अपमान हुन्छ, तपाई जिन्दगीभर जसका विरुद्ध लड्नुभयो, त्यही पार्टीको हलोमा भोट हाल्न तपाईको कुन नैतिकताले देला?’ प्रचण्डले प्रश्न गरे।

चितवन क्षेत्र नम्बर तीनमा कांग्रेसका थुप्रै नेताहरु भएकाले कांग्रेसकै नेता उठेको भए आफ्नो प्रतिस्पर्धी हुने भन्दै  प्रचण्डले अब आफ्नो कोही पनि प्रतिस्पर्धी नभएको जिकिर गरे।

गिरिजाप्रसाद कोइलालालाई स्मरण गर्दै प्रचण्डले भने “गिरिजाबाबुले, प्रचण्डजी यो देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएको थियो, गिरिजाबाबुको गणतन्त्रप्रतिको निष्ठा थियो, अहिले राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भुल्न खोजेको छ।’ अब नेपालमा कम्युनिष्ट र कांग्रेसबीच मात्रै प्रतिस्पर्धा हुने प्रचण्डको भनाइ छ।

राजनीतिक स्थिरता र देशको विकासका लागि थोरै पार्टी हुनुपर्नेमा जोड दिंदै उनले वामपन्थी एकता कसैका विरुद्ध लक्षित नभएको प्रष्ट्याए। ‘हाम्रो विचार मिल्यो र एक ठाउँमा आयौं, कांग्रेस पनि विचार मिल्नेहरुसँग मिल्दा हामी खुसी नै हुन्छौं’ प्रचण्डले भने।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्डसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष तथा हालका वन मन्त्री विक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!