उदयपुर, २६ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदबार बनेका ६ जनाको घरमा कालो झण्डा राखेको छ । ‘दलिय संसदिय व्यवस्था मुर्दावाद, कथित संघ र प्रदेशको निर्वाचन खारेज गरौं ।’ जस्ता नारा लेखेको उम्मेदबारहरुको घरमा कालो झण्डा राखिएको छ ।

उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै घरमा कालो झण्डा राखेको अभियोगमा प्रहरीले नेकपाका जिल्ला नेता पूर्णबहादुर कटुवाललाई समेत पक्राउ गरेको छ ।

कटारी नगरपालिकाको मरुवाबाट घरमै बसिरहेको अवस्थामा कटुवाललाई आइतबार विहान पक्राउ गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । ‘एक जना नेतालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ,’ उनले भने, ‘अहिलेसम्म ६ जना उम्मेदवारको घरमा कालो झण्डा राखेको जानकारी आएको छ ।’

नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनबाट उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार मञ्जु चौधरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेशकुमार राई (हिमाल), वाम गठबन्धनका प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(क) का उम्मेदबार नारायण बुर्जा मगर, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(ख) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार हिमाल कार्की, निर्वाचन क्षेत्र नं. २(ख) का उम्मेदबार रामकुमार खत्री र प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका उम्मेददवार विष्णु राई दनुवारको घरमा कालो झण्डा राखेका छन् ।

नेकपाका उदयपुरका नेता सुरेन्द्र बुढाथोकीले उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको बताए । ‘उम्मेदवारी फिर्ता लिई निर्वाचन खारेज गर्न माग गरिएको थियो,’ उनले भने, ‘नमानेपछि उम्मेदवारकै घरमा कालो झण्डा राख्ने कार्यक्रम जारी छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!