
काठमाडौं, २६ कात्तिक । डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश आउनुलाई संक्रमणकालीन जित मात्र भनेका छन् । साथै उनले अध्यादेश जारी गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
डा. केसीले आइतबार पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘अध्यादेश आउनु हाम्रो अभियानको संक्रमणकालीन जित मात्र हो । पूर्ण ऐनको रुप दिन बाँकी नै रहेकाले आउने संसदबाट ऐनको रुपमा दिन सबै दललाई अपील गर्दर्छौं ।’
उनले जनतामुखी ऐनको पक्षमा कि विपक्षमा प्रष्ट अडान लिएर जनतामा जान आहृवान गरेका छन् । डा. केसीले भने, ‘चिकित्सा शिक्षा ऐन लगायतका विषयमा जनताका हितका लागि काम गर्ने कि आफ्नो हितका लागि मात्र काम गर्ने भन्ने सोधेर मात्र मत हाल्न आहृवान गर्छौं ।’
उनले अध्यादश आएपनि चिकित्सा शिक्षामा भद्रगोल कायम गर्न जिम्मेवारहरुमाथि कारबाही गर्नु पर्ने लगायतका आफ्ना माग पूरा हुन बाँकी नै रहेको स्मरण गराएका छन् । साथै आईओएमको अधिकार खोसेको भन्दै त्रिवि पदाधिकारीलाई कारबाही गर्न पनि माग गरेका छन् ।
डा. केसीले केही गलत पात्रका कारण न्यायालयको बद्नामी भएको पनि बताएका छन् । काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनमा सर्वोच्चले गरेको फैसलाले न्यायालयको गरिमा घटाएको उनको निष्कर्ष छ ।
लोकतन्त्रमा न्यायालय पनि जवाफदेही हुनु पर्ने भन्दै डा. केसीले भनेका छन् ‘लोकतान्त्रिक व्यवस्थामा अवहेलनाको क्रास देखाएर मिडियाको मुख थुन्ने र निरंकुशतापूर्वक भष्टाचारमा लिप्न हुने अधिकार न्यायालयलाई छैन । ‘
डा. केसीले न्यायालयमा अराजकता लामो समयसम्म रहन नसक्ने भन्दै न्यायलयको गरिमा बचाउन कुनै पनि बेला अभियान चलाउन सक्ने बताएका छन् ।-अनलाइनखबर















