रोल्पा, २५ कात्तिक । हिजो रोल्पाको सुकीदहको सुखाओढार बजारमा वामगठबन्धनको चुनावी सभा थियो। सभा सकिएपछि हामी विहान त्यहीँ बस्यौँ।

Advertisement

सभाकै क्रममा रोल्पामा वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा उमेदवार रहनु भएका वर्षमान पुन ‘अनन्त’ र रोल्पा ख’ का उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ बीच कुराकानी भएछ, ‘रुकुममा जनार्दन शर्मा ‘प्रभाकर’ माथि वम प्रहार भएछ। रोल्पामा पनि यस्ता घटना हुनसक्छन्।’

आज विहानै चिया–रोटी खाएर घर्तिगाउँमा हुने सभाका लागि सुख्खावजारबाट प्रस्थान गर्‍यौं। उम्मेदवार, नेता–कार्यकर्ता, सुरक्षाकर्मीका गरी हामीसँग ६ वटा गाडी थिए।

वाटो कच्ची थियो। जोल्टिङहरु थुपै्र थिए। त्यसैले गाडीको स्पिड कम थियो।

अकस्मात गाडीमुनि माइन विस्फोट भयो। विस्फोट विहान ठीक १० बजेर ३५ मिनेटमा भएको थियो।

विस्फोटपछि अनन्तले आफै माइनको अध्ययन गर्नुभयो। उहाँले भनेअनुसार, ‘माइन त्यति शक्तिशाली होइन, तर्साउनमात्र राखिएको हो।’

उहाँले यो पनि भन्नुभयो, ‘हिजोमात्र सिजल र मैले हामीमाथि पनि यस्तै आक्रमण हुनसक्छ भनेका थियौँ, आजै यस्तो घटना भयो।’

जनार्दन शर्मामाथि आक्रमण भएपछि आफूमाथि पनि हुनसक्ने विश्लेषण गरेपनि यति छिट्टै, आजै चाहिँ हुन्छ भन्ने उहाँहरुले अनुमान गर्नु भएको रहेनछ।

अनन्तको सुरक्षाका लागि ३–४ जना सुरक्षाकर्मी छन्। त्यसबाहेक जिल्ला प्रहरी कार्यालयबाट पनि थप सुरक्षाकर्मी खटाइएका छन्।

घटना हुनासाथ प्रहरीहरुले फायर गरे। उनीहरुले एक सय मिटर परबाट तार ल्याएर विस्फोट गराएका रहेछन्। त्यसैले, उनीहरु भेटिएनन्। विस्फोट गराए, भागिहाले।

अनन्त आफै जनयुद्धको नेतृत्वमा भएकाले हातहतियार, बमबारुद, माइन आदिबारे जानकारी हुने भइहाल्यो। विस्फोट गरिएको माइनको अध्ययन गर्नुभयो।

त्यो हेरेपछि उहाँले भन्नुभयो, ‘त्यति शक्तिशाली माइन होइन रहेछ। तर, यदि हाम्रो गाडी स्पिडमा थियो भनेचाहिँ केही क्षति पुग्नसक्थ्यो। गाडी स्पिडमा नभएकाले केही भएन।’

आज घर्ति गाउँको राङ्सी (उपराष्ट्रपति नन्दबहादुर पुनको गाउँ) मा चुनावी सभामा छ। हामी त्यतैतिर जाँदैछौँ। सबै सकुशल छौं। तर यो घटनापछि हामी सतर्क भएका छौँ।

(गोकुल घर्ती नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन्)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!